स्वमूल्याङ्कनमा स्याङ्जाका दुई पालिकाको नतिजा देश भरिमै राम्रो
नारायण प्रसाद कोइराला, २१ चैत्र २०७८
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजनिक गरिएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्याङ्जाका दुई पालिकाको नतिजा देश भरिमै राम्रो पाइएको छ । मन्त्रालयले प्रकाशन गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा स्याङ्जाको वालिङ नगरपालिका र फेदीखोला गाउँपालिकाको नतिजा राम्रो पाइएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजामा धादिङको निलकण्ठ नगरपालिका ९७ अंक प्राप्त गरि उत्कृष्ट भएको छ। स्याङ्जा जिल्लाको वालिङ नगरपालिका ९५ अंक प्राप्त गर्दै दोस्रो भएको छ भने फेदिखोला गाउँपालिका ९२.७५ अंक प्राप्त गरि चौंथो भएको छ। तेस्रो स्थानमा रहेको गुर्भाकोट नगरपालिका, सुर्खेतले ९३.२५ अंक प्राप्त गरेको छ।
स्याङ्जा जिल्लाका पालिकाहरूको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा हेर्दा वालिङ र फेदीखोला पछि पुतलीबजारको नतिजा राम्रो छ। पुतलीबजार नगरपालिकाले ८२.५ अंक प्राप्त गरेको छ भने आँधिखोला गाउँपालिकाले ७९ अंक प्राप्त गरेको छ। जिल्ला भित्रका पालिकाको नतिजा हेर्दा भीरकोट पाँचौ स्थानमा छ भने चापाकोट नगरपालिकाको नतिजा सबैभन्दा न्यून ४९.७५ रहेको छ। मन्त्रालयले ७५३ पालिका मध्ये LISA प्रणालीमा प्रविष्ट भएका ६९९ पालिकाको आर्थिक वर्ष ७७/७८ को नतिजा सार्वजनिक गरेको हो। शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण र सहकार्य र समन्वय गरि दशवटा विषयक्षेत्रलाई समेटेर तयार पारिएको ६९९ पालिकाको स्वमूल्याङ्कन नतिजा मन्त्रालयले सार्वजनिक गरेको हो।