स्याङ्जामा निर्वाचन सुरक्षाका लागि तीन हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन

बैशाख २८, २०७९


नारायण प्रसाद कोइराला
२८ वैशाख२०७९ ,स्याङ्जा
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि स्याङ्जा जिल्लाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिसकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी गराउनु भएको छ । बुधबार प्रेस चौतारी सम्वद्ध पत्रकारहरुसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना , राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी ३ हजार २ सय ८२ सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो।उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी ९ सय ६०, म्यादी प्रहरी १ हजार ६ सय २४, शसस्त्र प्रहरी ३ सय ३७, नेपाली सेना ३ सय ४७ र राष्ट्रिय अनुसन्धानका  १४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल


निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि नेपाल सरकार गृह मन्त्रालयले तयार पारेको एकीकृत सुरक्षा योजना अनुसार ४ वटै मुख्य सुरक्षा निकायहरू परिचालन गरिएको उहाँले उल्लेख गर्नुभयो ।यसैगरी वालिङ र स्याङ्जा सदरमुकाममा रिर्जव फोर्स पनि तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार परिचालन गरिने जानकारी दिनुभयो।



निर्वाचन प्रचारप्रसारका क्रममा भएका राजनीतिक मनमुटाव र झडपका घटना र संलग्न व्यक्तिहरूमाथि छानविन एवं अनुसन्धान भैरहेको र केही दोषी व्यक्तिहरूलाई नियन्त्रणमा लिएको पौडेलले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाका हरिनास , कालिगण्डकी गाउँपालिका, गल्याङ र चापाकोट नगरपालिकामा निर्वाचनलाई प्रभावित पार्ने खालका छिटपुट घटना हुने गरेका विगतका निर्वाचनमा अनुभव गरिएको हुँदा यस पटक शान्तिपूर्णरुपमा निर्वाचन गराउनका लागि सुरक्षाका हिसाबले उक्त पालिकाहरू र अन्य संवेदनशील मतदान केन्द्रमा विशेष निगरानी राखिने बताउनुभयो। यसका साथै अन्य पालिकाहरुमा पनि कुनै अप्रिय नहोस भनी सुरक्षाकर्मीको विशेष निगरानी रहने समेत प्रमुख जिल्ला अधिकारी पौडेलले उल्लेख गर्नुभयो ।निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पत्रकार, नागरिक समाज, सुरक्षाकर्मी, राजनीतिक दल र आम मतदाताको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले सरोकारवाला सबैलाई जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्न आग्रह गर्नुभएको थियो।