राममाया ! तिमी रोयौ त ?

माघ १३, २०८०


१३ माघ २०८०, शनिबार 

म आज उसको कथा–इतिहास लेख्न बसिरहेछु । उसको महान् बलिदानीको, उसको प्रेमको र उसको आग्रहको । ऊ अर्थात् ऊ दशरथ चन्द ठकुरी उर्फ नेपालको इतिहासको माहिला सहिद । साहस र स्वाभिमानको सगरमाथा, विद्रोहको एक फिलिङ्गो अनि मृत्युविजेता एक महान् वीर र क्रान्तियोद्धा नायक ।

बैतडीको बस्कोटमा उसले संसारको पहिलो उज्यालो देख्दा देश राणाहरुको मुठीमा कैद थियो, आँखा चिम्लिँदा पनि उनीहरुकै कब्जामा । फरक यत्ति थियो– १९६० मा उसले आँखा खोल्दा चन्द्रशमशेरको चकचकी थियो भने १९९७ मा शरीरमा ४ वटा गोली थापेर आँखा चिम्लिँदा जुद्धशमशेरको जगजगी ।

जुद्धशमशेरको ज्यादतीभित्रै देश मुक्तिको मिर्मिरे खोज्दै थियो । निरङ्कुशताको सघन तिमिरमा देखिँदै थियो विद्रोहको एक जूनकीरी–उज्यालो । २–४ पठित युवाहरु छातीमा आगो बालेर र पालेर निरङ्कुशतालाई दातबत्ती दिन तम्सँदै थिए । विलासितामा पनि दरबार विक्षिप्त थियो र ऊ पनि मुक्तिमार्ग खोज्दै थियो । कखरामा पहुँच नपुगेका अपठित निरीह नेपाली जनतामा मलामी–चेतना भने सशक्त भइसकेको थिएन । जाग्दै गरेको मुक्ति–चेतनालाई शिथिल पार्न शासकहरु भने क्रूर बन्दै थिए र हतियारमा साँध लगाउँदै थिए । बाटो फलामे काँढाहरुले भरिएको दुरुह थियो, तैपनि उसले त्यही दुरुहता रोज्यो, क्रान्तिको त्यही दुरुह–पथ ।

शासक–ज्यादतीको विरुद्धको चेतना उसको पुर्ख्यौली विरासत थियो । उसका पूर्खाहरु जङ्गे–ज्यादतीविरुद्धको बैतडी विद्रोह का नायकहरु थिए र काटी मारिदिनु  भन्ने जङ्गीहुकुमका कारण प्रवासिन वाध्य थिए । तर त्यो कमजोर चेतन–दियो अन्ततः समर्पणकै घाटमा अस्तायो । भौतिक, आस्तित्विक मोहका कारण विद्रोहको बीउलाई जोगाउन नसकेपछि कान समातेर पुनः गृहभूमि फर्केकाहरुमध्येका एक जयचन्दका छोरा शेरबहादुर चन्दको माहिलो छोराका रुपमा उसको पहिलो सांसारिक परिचय बन्यो ।

बाबु शेरबहादुर शमशेरहरुकै जागिरमा थिए । पहिला सुर्खेतका लप्टन र पछि नेपालगञ्जका मालपोतका हाकिम । जागिरे बाबुको पछि लाग्दै सुर्खेत र नेपालगञ्जमा बाल्यजीवन बिताए पनि अक्षरको उज्यालो भने उसले प्रवासबाटै प्राप्त गर्‍यो । बाबुलाई औलोले खर्लप्पै निलेपछि भने जीवनवृत्तिका लागि कलैया बरेवा दरबारका साहेबज्यू रामराजाका मेनेजरसमेत बनेको उसले यसैबेला नै नेपालका अर्का क्रान्ति–नायक टङ्कप्रसाद आचार्यसँग आफ्नो क्रान्तिकारी परिचय साट्ने अवसर प्राप्त गर्यो ।

ऊ  बाँच्न चाहन्थ्यो  तर बाँच्न मात्रै चाहन्थेन । केवल बाँच्नु उसका लागि स्वीकार्य थिएन । ऊ सपना देख्दैनथ्यो मात्र, आफ्ना सपनाहरुलाई पछ्याउन पनि चाहन्थ्यो । ऊ आफ्नो उद्देश्यमा दृढमात्रै थिएन, सुदृढ पनि थियो । अन्ततः केवल बाँच्नु को जीवनवृत्तिलाई छाडेर सार्थक बाँच्नु को खोजीमा काठमाडौँ शहरतिर हानियो, उसको सहादतको प्रतीक्षा गरिरहेको शहरतिर ।

बैतडी बस्कोटको ऊ शुरुमा काठमाडौँमा बिल्कुल एक्लो थियो । चिनजानको क्षितिज विस्तारित थिएन । कान्छी आमाको माइतीघर शरणाधीन भएर बसेको उसको शरीर–सौन्दर्य भने अद्भूत लोभलाग्दो थियो । बैंसका बाछिटाहरुले घरिघरि हृदयलाई हिर्काउन थालेका थिए । ऊ बोल्दा नरम मिजासमा ठकुरी रवाफमा बोल्थ्यो । काठमाडौँका राणाजीहरु आफ्ना सुकुमार छोरीहरुका लागि योग्य वरका रुपमा ठकुरीवंशी त्यस्तै युवाहरुको खोजीमा हुन्थे । अन्ततः ऊ रुद्रशमशेरको आँखामा पर्‍यो अनि उसको बैंसालु हृदयलाई शीतल स्पर्श गर्दै उसको जीवनमा उसकी दिलमाया झुल्किई जुलियाना ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

बडो विचित्र थियो, जुन वंशवादका विरुद्धमा ऊ विद्रोहको ज्वाला दन्काउन चाहन्थ्यो, सोही वंशपरिवारकी कोमलाङ्गीको प्रेममा ऊ चुर्लुम्म डुबेको थियो । अब ऊ आफ्नो मुटुको दुई कुनामा दुई प्रकृतिका प्रेम बोकेर हिँड्थ्यो– एउटा जनताको मुक्ति–प्रेम र अर्को जुलियाना–प्रेम । जुलियाना–प्रेम उसको व्यक्तिगत थियो तर जनताको मुक्ति–प्रेम सार्वजनिक । जुलियाना अब उसको मन थिई, मुटु थिई; उनीहरुको बीचमा विचित्रको मौन–प्रेम थियो र यसको एकमात्र साक्षी थियो, उसकै साथी धर्मभक्त । तर उनीहरुको यो प्रेम अस्तित्वलाई भने स्वीकार थिएन । तेस्रो दर्जाको राणा भनेर रुद्रशमशेर पाल्पा धपाइएपछि उसकी मुटु जुलियाना पनि ऊबाट टाढा भई । शारीरिक दूरताले प्रेमी आत्माहरुलाई अझ निकट तुल्याउँदो हो । भूगोलका दुई बिन्दुहरुमा बसेर पनि अनगिन्ती चिनोहरुमार्फत उनीहरुले केही समय आफ्नो प्रेम–तृष्णा मेटिरहे तर दैवलाई यो पनि मञ्जुर भएन । मुक्तिका लागि माटोले रक्तबीज मागिरहेका बेला सायद मेरो देशको इतिहास बैतडीको दशरथलाई काठमाडौँका राणाहरुको ज्वाइँ बनेको देख्न चाहँदैनथ्यो होला, सम्बत् १९९६ मा दैवले जुलियानाको जीवनै खोस्यो तर प्रेमदेवी जुलियानाले पठाइदिएको खास्टो एकान्तमा उसको आँशु पुछ्ने रुमालमात्र बनेन, सहादत प्राप्त गर्दैैगर्दा उसको कमलो मुटु ढाक्ने अमर प्रेम–प्रतीक पनि बन्यो ।

उसको मनमुटुमा त जुलियाना थिई तर अब जीवनमा थिइन । बाँच्न चाहनेहरुलाई प्रेमले कमजोर पार्छ भने वियोगले बलियो । सायद अस्तित्वलाई थाहा थियो– जुलियाना बाँचेकै भए पनि उसकै क्रूर वंशले उसको प्रेमीलाई सिध्याउँदै थियो र आफ्नो प्रेमीसँगको त्यो महावियोगलाई उसको मुटुले सहन सक्तैनथ्यो, त्यसैले ऊ चाँडै गई ।

अब उसको अगाडि एउटा मात्रै विकल्प थियो– जनताको मुक्ति–मार्गको कठिन यात्रा र एउटा मात्रै गन्तव्य थियो– स्वतन्त्रताको प्राप्ति । अब उसले झन बलियो गरी बाँच्नु थियो । यसका लागि उसले भित्रभित्रै अनेकौँ दिलहरुमा क्रान्तिको आगो सल्काउँदै थियो । नेपाल प्रजापरिषद्को सबैभन्दा निर्भीक सदस्यका रुपमा उसले लुकीलुकी राणाव्यवस्थाको चिहान खन्दै थियो । मर्न नडराउनुजस्तो ठूलो चुनौती अत्याचारीहरुका लागि अरु केही हुन सक्तैन । उसले तानाशाहहरुलाई यस्तै चुनौती दिँदै थियो । तर दुर्भाग्य, गिद्देनजरहरुबाट उसले आफूलाई छुपाइरहन सकेन, ऊ आफ्ना साथीहरुसितै पक्राउ पर्‍यो । शासकहरुका आँखामा ऊ राजद्रोही घोर अपराधी थियो । अरुलाई जस्तै उसलाई पनि राजद्रोहको मुद्दा लगाइयो, सुनुवाइको नाटक मञ्चन गरियो अनि अरु सबै भएको तर न्याय नभएको व्यवस्थामा सजाय सुनाइयो फाँसी । फाँसीको सजाय सुनाउँदै गर्दा क्रूरतालाई चुनौती दिँदै उसले सगर्व जोरले चिच्च्यायो–ए फाँसी क्या चिज हे ? अझै उसले चिच्च्यायो– यो देशको मुक्तिका लागि मेरो धर्तीमा छरिएका मेरा रक्तबीजहरुबाट हजारौँ दशरथहरु जन्मनेछन् र म मरे पनि प्रेत बनेर सिंहदरबारमा यी अत्याचारी राणाहरुलाई तर्साउन छाड्ने छैन । अनि फाँसीको सजाय नपाएका साथीहरुतिर फर्केर हाँस्दै भन्यो– हामी जाँदैछौँ, तिमीहरु जिउँदै छौ केही गर ।

अन्ततः उसले फाँसीमा चढ्नुपर्ने दिन आयो । त्योभन्दा अघि नै उसका महान् साथीहरु शुक्रराज र धर्मभक्त क्रूर अव्यवस्थाको कोपभाजन भइसकेका थिए । अब ऊसँग अर्को एउटा २२ वर्षे केटो थियो गंगालाल, हिजोमात्र सुत्केरी भएकी पत्नीलाई नभेटी देशका लागि ऊसँगै महान् मृत्यु मर्न हिँडेको । १९९७ साल माघ महिनाको १५ गते राति यस्तै ठण्डीमा जनताको मुक्तिका लागि फाँसीमा चढ्नुभन्दा केही दिन अघि उसले कोठा बढार्ने कर्मचारी राममायालाई आफू मारिएपछि रोइदिन आग्रह गर्दै भनेको थियो– राममाया ! मेरा साथीहरुलाई मारेपछि रुने उनीहरुका आफन्त थुप्रै छन् तर मेरा लागि रुने कोही पनि छैनन् । त्यसैले मलाई मारेपछि तिमी रोइदेऊ है राममाया ।

निश्चय नै ऊ काठमाडौँमा एक्लै थियो । अन्त्यकालमा पनि उसलाई भेट्न कोही गएका थिएनन् । ऊ मर्दा रोइदिने उसकी जुलियाना पनि उसैलाई रुवाएर स्वर्गमा उसको प्रतीक्षा गर्दै थिई । माघको ठण्डीमा राति १.३० बजे शरीरमा चार गोेली थापेर मृत्युवरण गरेको उसलाई श्रद्धापूर्वक सम्झँदा म भने एउटा प्रश्नले विक्षिप्त र उत्तेजित छु– राममाया तिमी रोयौ त ? यो प्रश्नको उत्तर दिने राममाया भौतिक अस्तित्वमा छन् कि छैनन् मलाई थाहा भएन ।

(यो न इतिहास हो न कथा । बरु म यसलाई कथेतिहास भन्न रुचाउँछुु । पाठकहरुले यसरी नै बुझिदिनुभएमा आभारी हुने छु । सहिद–सप्ताह चलिरहेको यो समयमा सम्पूर्ण महान् सहिदहरुप्रति हार्दिश्रद्धान्जली )