पालिकाको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा साभ नेपाल अग्रपंक्तिमा

असार ३२, २०७९


स्मार्ट अखबार संवाददाता
३२ असार २०७९

स्थानीय तहको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा नेपालको शैक्षिक गैसरकारी संस्था साभ नेपाल अग्रपंक्तिमा देखिएको छ। संस्थाको सहजीकरणमा २० भन्दा बढी पालिकामा पाठ्यक्रम निर्माण एवं पाठ्यपुस्तक लेखनको काम भैरहेको साभ नेपालका अध्यक्ष डा. तुलसी प्रभास खनालले जानकारी दिनुभयो। स्याङ्जाको  भीरकोट र चापाकोट नगरपालिका, बिरुवा र कालीगण्डकी गाउँपालिका, बाग्लुङको तमानखोला गाउँपालिकामा साभ नेपालको सहजीकरणमा निर्माण गरिएको पाठ्यक्रम तथा पाठ्यपुस्तक आधारभूत तहका विद्यार्थीहरूमाझ लोकप्रिय बन्दै गएका छन्। साना नानीबाबुहरूले आफ्नै नगरपालिका र गाउँठाउँका बारेमा पढ्न, लेख्न र घुम्न पाउँदा एकदमै खुसी एवं उत्साहित भएको बिरुवा गाउँपालिकाको जनप्रिय पिपलभज्याङ आधारभूत विद्यालयका शिक्षक लेखबहादुर आले मगरले बताउनुभयो। पालिकको प्राकृतिक ,ऐतिहासिक, सामाजिक ,धार्मिक र सांस्कृतिक चिनारीहरूलाई समेटेर तयार गरिएको हुनाले पाठ्यपुस्तक लोकप्रिय बनेको उहाँको भनाइ छ।

विद्यार्थीहरूले किताबमा उल्लेख गरिएका आफ्ना गाउँठाउँका सम्पदाहरूको बारेमा पढ्न पाउँदा खुसी हुँदै शिक्षकहरूलाई सोही ठाउँमा शैक्षिक भ्रमणमा लगिदिन अनुरोध गर्न थालेको बताउनुहुन्छ भीरकोटको लुब्दीखोला आधारभूत विद्यालयका प्रधानाध्यापक निर्मला अर्याल। यसैगरी भीरकोटकै तिलाहारनेटा आधारभूत विद्यालयका शिक्षक राजनप्रसाद पौडेल पनि विद्यार्थीहरूले “हाम्रो भीरकोट” किताब एकदमै उत्साहित भएर पढ्ने गरेको बताउनुहुन्छ। ।

बाग्लुङको तमानखोला गाउँपालिकाका शिक्षा शाखा अधिकृत पुरन घर्तीले साभ नेपालले तयार गरेको पाठ्यपुस्तक लागू गर्न लागिएको बताउनुभयो।अनुभवी लेखक र विषय विशेषज्ञबाट तयार पारिएको हुनाले कक्षा २ र ३ को पाठ्यक्रम एकदमै राम्रो भएको उहाँको भनाई छ।

जनता मा.वि. विर्घा, स्याङ्जाका निवर्तमान शिक्षक पशुपति पाण्डेले विद्यार्थीको स्तर सुहाउँदो पाठ्यक्रम र पाठ्यपुस्तकको निर्माण भएको हुँदा आफूलाई खुसी लागेको बताउनुभयो।स्थानीय सम्पदाहरूसंँग सम्बन्धित सूचनामूलक सामाग्री रहेकाले आधारभूत तहमा यो पाठ्यपुस्तक लोकप्रिय हुने उहाँको विश्वास छ।

साभ नेपालका अध्यक्ष तुलसी खनाल प्रभास पनि शिक्षक तथा विद्यार्थीहरूबाट आएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताउनुहुन्छ।आर्थिक वा अन्य कारणले भ्रमणमा लान नसक्ने विद्यालयहरूलाई लक्षित गरेर साभ नेपालको युट्युब च्यानलमा विभिन्न पालिकाका सम्पदारूको बारेमा विशेष जानकारीहरू समेटिएका भिडियो सामाग्रीहरू रहेको बताउनुहुन्छ।स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक लेखनमा सहजीकरण गर्ने एकमात्र संस्था साभ नेपाल रहेको कुरा साभ नेपालका अध्यक्ष खनालको दाबी छ ।