वालिङमा फोहरमैला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

बैशाख ३०, २०८१     मणी प्रसाद अर्याल


स्याङ्जाको वालिङ नगरपालिकाले फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । नगरपालिकाले जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एवम् सञ्चारकर्मीकाबीच फोहरमैला व्यवस्थापन सम्बन्धी आइतबार छलफल तथा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा बायोमास अल्टरनेटिभ रिनेबल ईनर्जी प्रालिले शुन्य फोहोर व्यवस्थापनका विषयमा प्रकाश पारेको थियो । नेपालमै निर्मित अत्याधुनिक मेसिनद्वारा फोहोर प्रशोधन गरी स्वच्छ वातावरण बनाउने उद्देश्यले अगाडि बढेको प्रालिले यसको सफल अभ्यासहरु जापानमा समेत गरिसकेको कम्पनीका प्रबन्धक अमृत थापाले बताए  । कम्पनीले फोहोरबाट प्रारङगारिक मल र ग्रिन युरिया उत्पादन गर्दै आएको कम्पनीका प्रवन्धक थापाले उल्लेख गरे  । जिम्मेवारी पाएको खण्डमा कम्पनीले आफ्नै लगानीमा सरसफाई व्यवस्थापनको काम गर्ने उनको भनाई छ ।

नकुहिने फोहोर समेत एकैछिनमा नष्ट गर्ने प्रविधि वातावरणमैत्रि रहेको थापाले बताए । वालिङ नगरपालिकामा दैनिक १० टन फोहोर निस्कने गरेकोमा ३ टन कुहिने फोहोर निस्कने गरेको छ । कम्पनीले यहाँका ग्रामिण क्षेत्रमा रहेका झारपात, पातपतिङगर, पशुको मलमुत्रलगायतका फोहोरकोसमेत जापानी प्रविधिमा मल, कोईला, युरिया उत्पादन गर्ने जनाएको छ ।

सम्झौता गरी नगरपालिका मार्फत कृषकलाई गाउँघरमा खेर गईरहेका पातपतिङगरसमेत किनेर मल बनाउने योजना गरेको कम्पनीले जनाएको छ । यो योजनामा नगरपालिका र कम्पनीबीच सम्झौता भएमा नगरपालिकाको कुनै लगानी नरहने, २० वर्षे योजना हुँने र विभिन्न डोनरहरुको माध्यमबाट १ अर्ब ३४ लाख लगानी गर्ने कम्पनीका प्रबन्धक थापाले जानकारी गराए।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्मार्ट नगरको रुपमा विकसित नगरपालिकालाइ नागरिको आवश्यकतालाइ मध्यनजर गरि अल्पकालिन,मध्यकालिन र दिर्घकालिन योजना बनाइने बताए । नगरप्रमुख खांँणले नगरको विकासमा सवै सरोकारवाला संग समन्वय गरि कार्यक्रम अगाडि बढाउने बताए।

नगर उपप्रमुख कविता तिवारी गैह्रेले नगरको बृहत्तर विकासका निमिन्त सवै सरोकारवाला संगको सहकार्य गरिने र स्मार्ट नगर बनाउने योजना अनुसार नगरपालिका अगाडी बढेको जानकारी दिएका  थिए ।



 

जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एवम् पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा नगरपालिकालाई व्यवस्थित रुपमा अगाडि बढाउन सुझाव दिएका छन् । कार्यक्रमका सहभागीहरुले नगरपालिका आम नागरिकको स्थानीय सरकार रहेको वालिङ उदाहरणीय बन्नुपर्ने धारणा राखेका छन् ।

नगरपालिकाको सरसफाई केन्द्रको लागि मेशिन तथा औजारको खरिद एवम् जडानका विषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए ।ठेक्का सम्झौता सकिएपछि खैरवाङगी निर्माण सेवाले बिना जानकारी फोहोर प्रशोधन मेसिन ल्याएको र निःशुल्क मेशिनसहित फोहोर व्यवस्थापन गर्छु भन्ने एक पक्ष आईरहँदा नगरपालिकाले करौड बढिको मेशिन खरिद गर्न नहुने र सुझबुझसहित अवसरको सदुपयोग गर्न सहभागीहरुले सुझाएका छन् । फोहोर व्यवस्थापनमा उत्कृष्ट पुरस्कारसमेत हात पारेको वालिङमा फोहोर प्रशोधन मेसिन खरिद तथा जडानको विषय विवादित बनेपछि सहभागीले प्रश्न गरेका हुन् ।

 

मेशिन खदिरका लागि २०७८ साल माघ १६ गते  जाजरकोटको खैरवाङगी निर्माण सेवासँग सम्झौता भएको थियो । २०७९ जेठ मसान्तमा १ करोड ६ लाख १७ हजार ४ सय ८० रुपैँयामा मेशिन ल्याउने सम्झौता नगरपालिका र खैरवाङगी निर्माण सेवाबीच भएको थियो । कम्पनीले सम्झौता अनुसार समयमा मेशिन ल्याउन नसकेपछि २०८० असार मसान्तसम्म म्याद थपिएको थियो । म्याद थपिएको समयमा पनि ल्याउन नसकेको र म्याद थपको समयभन्दा झण्डै एक वर्षपछि मेशिन ल्याएको हो ।

२०८० फाल्गुन २४ गतेको नगरपालिका बोर्ड बैठकले भने कम्पनीले थप गरेको म्यादमा पनि औजार नल्याएको र पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि सम्झौता तोड्ने निर्णय गरेको थियो । सम्झौता तोड्ने निर्णय गरेर ५ दिनको सूचना निकालेको र उक्त सूचना निकालेको ३ दिनमा कम्पनीले मेशिन सरसफाई केन्द्रमा ल्याएको थियो । कम्पनीले लगिकेको २१ लाख २३ हजार पेश्कीसमेत फिर्ता गरेको अवस्थामा अहिले एकाएक बिना जानकारी मेशिन ल्याइएको जानकारीमा आएको हो ।