जनताप्रति उत्तरदायी बन्दै स्थानीय सरकार

जेठ १०, २०७९


स्मार्ट अखबार संवाददाता
१० वैशाख २०७९

स्थानीय निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएपछि पदभार ग्रहण गरेका नवनिर्वाचित जनप्रतिनिधिहरूले जनकल्याणकारी निर्णयहरू गर्न थालेका छ्न्। स्याङ्जाका स्थानीय सरकारहरूले सडक स्तरोन्नति , स्वास्थ्य संस्थाको स्तरोन्नति , इन्डक्सन चुल्हो वितरण , दलित तथा विपन्न वर्गलाई छात्रावृत्ति वितरण लगायतका निर्णयहरू गरेका छ्न्।

वडा नं १ का वडा अध्यक्ष दिपेन्द्र के.सी. , जनप्रतिनिधि र कर्मचारी

स्थानीय सरकारको सबैभन्दा तल्लो तह वडा कार्यालयहरूले समेत जनउत्तरदायी हुँदै कल्याणकारी निर्णयहरू गर्न थालेका छ्न्। यसैबिच भीरकोट नगरपालिकाको वडा नं १ को कार्यालयले वडाबासीको चाहना अनुरूपका दुइवटा मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। नवनिर्वाचित वडा अध्यक्ष र जनप्रतिनिधिहरूको पहिलो बैठकले गरिब तथा विपन्न परिवारका सदस्यहरूका साथसाथै गर्भवती र सुत्केरी महिलाहरूलाई समेत नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घरदैलोमै पुगेर वितरण गर्ने निर्णय गरेको छ।

वडा नं १ का नवनिर्वाचित वडा अध्यक्ष दिपेन्द्र के.सी.ले भन्नुभयो, ” जेष्ठ नागरिकहरू बैंकको लाइनमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सामाजिक सुरक्षा भत्ता आवश्यकता अनुसार टोल छिमेक र घरदैलोमा पुगेर वितरण गर्ने निर्णय गरिएको हो।” के.सी आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भगवान के.सी. लाई भारी मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि वडा नं १ को वडा अध्यक्षमा पुन: निर्वाचित हुनुभएको थियो।