रक्षाबन्धनको धार्मिक एवं वैज्ञानिक महत्त्व

भदौ १३, २०८०


१३ भाद्र २०८०, बुधबार
ज्यो.प‌ं. यामनाथ रेग्मी

रक्षाबन्धन दुई शब्दहरू मिलेर बनेको छ, “रक्षा” र “बन्धन”। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ “सुरक्षाको गाँठो” हुन्छ। यो दिन दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा सुस्वास्थ्य, दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लगाइदिन्छ्न्।

यो चाड दाजुभाइ दिदिबहिनीबीचको प्रेमपूर्ण सम्बन्धको प्रतीक हो । यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ । यस दिन दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ । त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने र सहयोग गर्ने वाचा दिन्छ्न्।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व मध्ये रक्षाबन्धन पनि पर्दछ। रक्षाबन्धन पर्वले दिदिभाई र दाजुबहिको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्यता र प्रेम ल्याउँछ ।रक्षाबन्धन पारिवारिक एवम् सामाजिक मेलमिलाप बढाउने पर्व पनि हो ।

पौराणिक कथाअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे ।यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिन्छन् । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमुहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।



जनै पूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । बर्षाको समय गरिने खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ ।

साथै श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीले जनैपूणिर्माका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।

यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ ।

ज्ञान र सफल जीवन मार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ ।

वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ,यसले हृदय रोगको सम्भावनालाई कम गर्छ। चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ । जनै धारण गर्दा विभिन्न अङ्ग पनि स्वस्थ एवम् बलियो हुने हुँदा वैज्ञानिक दृष्टिबाट पनि महत्त्व रहेकाे छ।