भीरकोट सरकारको सक्रियताका कारण रेबिज रोग नियन्त्रणमा

जेठ १४, २०७९


स्मार्ट अखबार संवाददाता
१४ जेठ २०७९

भीरकोट नगरपालिकाको वडा नं २ केघा, गुरूङ गाउँमा देखिएको रेबिज रोग स्थानीय सरकारको सक्रियताका र शिघ्र सेवा प्रवाहका कारण नियन्त्रणमा आएको छ। करिब ३ दर्जन घरधुरी रहेको केघा गाउँका स्थानीयहरूले जेठ ६ गते पशु बिरामी भै मरेको खबर गर्नासाथ भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, उपप्रमुख भगवती रेग्मी अर्याल, वडा नं १ का अध्यक्ष दिपेन्द्र के.सी., वडा नं २ का अध्यक्ष श्यामकाजी अधिकारी, वडा नं ८ का अध्यक्ष नन्दलाल खनाल सहितको टोली स्थलगत निरीक्षण एवं अनुगमन गरेको थियो । साथमा नेपाली काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी र उपसभापति विष्णुमाया काफ्ले पनि हुनुहुन्थ्यो । जनप्रतिनिधिहरूको अनुगमन लगत्तै भीरकोट सरकारले पशुस्वास्थ्य प्राविधिक र जनस्वास्थ्य शाखाका प्रमुखको टोलीलाई नमुना परिक्षणको लागि नमुना लिन र निरिक्षणका लागि फिल्डमा खटाएको थियो । बिरामी भै मरेको पशुको नमुना परिक्षण गर्न पोखरा प्रयोगशालामा पठाउँदा रेबिज प्रमाणित भएको थियो ।

स्थलगत निरीक्षण गर्न केघामा नगर प्रमुख गोबिन्द कुमार कर्माचार्य ,उपप्रमुख भगवती रेग्मी , वडा अध्यक्षहरू र स्वास्थ्य शाखाका कर्मचारीहरू            फोटो : विष्णुमाया काफ्ले

रेबिज प्रमाणित हुनासाथ फिल्डमा खटिएको पशुस्वास्थ्य प्राविधिकको टोलीले रेबिज प्रभावित क्षेत्रका सबै स्वस्थ पशुहरूलाई रेबिज बिरूद्धको भ्याक्सिन लगाएको पशु स्वास्थ्य शाखा प्रमुख कमलकान्त पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले प्रभावित क्षेत्रका पशुहरूलाई लगाउन ५२ हजार ४ सय रूपैयाँमा ३०० डोज भ्याक्सिन खरिद गरेको जानकारी दिंदै पौडेलले ३ जना पशु प्राविधिक नियमित रुपमा फिल्डमा खटिएको बताउनुभयो । स्थानीय बासिन्दाका अनुसार कुकुरबाट पशुचौपायामा रेबिज सरेको हो ।

भीरकोट स्वास्थ्य शाखा प्रमुख नारायणबन्धु अर्यालका अनुसार रेबिज प्रभावित क्षेत्रमा कुनै पनि व्यक्तिमा रेबिजको लक्षण देखिएको छैन् । यद्यपि प्रभावित क्षेत्रका व्यक्तिहरूमा मनोवैज्ञानिक त्राश समेत नहोस भन्ने मनशायले वडा कार्यालयको सिफारिसमा हिजोको मितिसम्म १८ जना व्यक्तिहरूलाई गह्रौ प्राथमिक अस्पताल वालिङ र खिलुङ्देउराली स्वास्थ्य चौकी मार्फत रेबिज विरूद्धको भ्याक्सिन लगाइएको छ । वडा नं २ का वडा अध्यक्ष श्यामकाजी अधिकारीले केघामा रेबिज नियन्त्रणमा आएको र भ्याक्सिन लगाइसकेपछि कुनै पनि व्यक्ती वा पशुमा रेबिजको लक्षण नदेखिएको बताउनुभयो ।

भीरकोट २ केघा गुरुङ गाउँ निवासी टंक बहादुर गुरुङका अनुसार आज सम्म बिरामी पशुचौपायाको स्याहार सुसार गरेका २२ जना व्यक्तिहरूले रेबिज विरूद्धको खोप लगाएका छ्न् । उहाँका अनुसार केघा गाउँमा भैंसी, गाई, गोरु गरि करिब एक दर्जन बस्तुभाउ मरेका छ्न् । पशु प्राविधिकको टोलीले नियमित रूपमै गाउँमा पुगेर पशुचौपायाको उपचार गरिरहेको छ । फिल्डमा खटिएका पशु प्राविधिकका अनुसार कुनै पनि पशुचौपायामा नयाँ संक्रमण देखिएको छैन् । पहिल्यै संक्रमित २ वटा पशुहरू बिरामी छ्न् । स्वास्थ्यकर्मी र पशु प्राविधिक गाउँमा पुगेपछि स्थानीय बासिन्दाहरूले पूर्ण स्वास्थ्य सावधानी अपनाएका छन् ।



रेबिज कस्तो रोग हो ?
रेबिज (Rabies) पशुबाट मानिसमा सर्ने रोग हो । चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू जस्तै:- स्याल, ब्वाँसो, फ्याउरो आदी जनावरहरूमा उत्पन्न हुन्छ; घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ । यो रोग प्रायश: कुकुरको टोकाइबाट मानिसमा सर्छ । यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई “पानीबाट डराउने रोग” वा हाइड्रोफोबिया पनि भनिन्छ । रेबिज रोग लागेको कुकुरको चटाईबाट मात्र पनि यो रोग सर्न सक्छ। रोगी जनावरको र्‍यालद्वारा घाउ मार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्दछ भनेर सन् १८०४ मा एक जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए । त्यसको धेरैपछि मात्र लाईसा नामक भाइरसको सङ्क्रमणले गर्दा रेबिज हुन्छ र त्यो भाइरस स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा हुन्छ भनेर पत्ता लागेको हो ।

कसरी सर्छ?
रेबिज रोग लागेको कुनै पनि जंगली जनाबरहरूसँगको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई सर्दछ । रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरूलाई सर्दछ । रेबिज रोग लागेको कुकुर तथा मान्छे बहुलाउने गर्दछ ।

लक्षण के के हुन्?
रेबिज रोग लागेको जनावरहरूमा देखिने मुख्य लक्षण भनेको उत्तेजना हो । मानिस र जनावरमा देखिने लक्षणहरूमा केही समनता र केही भिन्नता पाइन्छ ।

गाई र भैंसी
धेरै चनाखो हुने, छट्पटीने, विना कारण कराउने, सिङ्गले भित्तामा ठोकी रहने, नउग्राउने, निल्न नसक्ने, र्याल काढी रहने, आँखा राता देखिने र अरु स्वास्थ पशु भन्दा भिन्नै लक्षणहरु देखाउने ।

कुकुर
रेबिज रोग लागेको कुकुरले पुच्छर टाँगमुनी लुकाएर हिँड्दछ । यस्तो कुकुरलाई अरु कुकुरहरूले देखेमा भुक्छन् । रोगी कुकुर पनि भुक्न खोज्छ तर सास सुकेको हुन्छ र भुक्दा सास आँउदैन । रेबिज रोग लागेको कुकुरले मुखबाट र्‍याल फाल्दै हिडेको देखिन्छ ।

मानिस
रेबिज रोग लागेको मान्छे पानीबाट डराउँछ । रेबिज रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अरु मानिसहरूलाई चिथोर्ने, कोर्ने, जस्ता कामहरू गर्छ । लक्षणहरू रोगको तीन अवस्था अनुसार देखा पर्दछन् ।
पहिलो अवस्था- टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना-तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।

दोस्रो अवस्था– चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने, जोसँग/जे गर्दा पनि रिसाउने, पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।

तेस्रो अवस्था– र्‍याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्यु हुन्छ ।

रेबिजबाट बच्ने उपायहरु :
१. आफ्नो घरपालुवा कुकुरलाई अनिवार्य रेबिज विरुद्धको खोप लगाउने,
२. कुकुरले टोकेको स्थानमा तुरुन्तै साबुनपानीले कम्तीमा १५ मिनेटसम्म राम्रो सँग धुने,
३. जनावरले टोकेको खण्डमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाउने ।