स्थानीय पाठ्यक्रम निर्माणका नाममा मनपरी भ्रमण

चैत १२, २०७९


स्मार्ट संवाददाता, स्याङ्जा
१० चैत्र २०७९

स्याङ्जाको पुतलीबजार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले स्थानीय पाठ्यक्रम बनाउने नाममा मनपरी भ्रमण गरी सरकारी स्रोत र साधनको दुरुपयोग गरेको पाइएको छ। पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माणका नाममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्युठान, रोल्पा, पाल्पा र अर्घाखाँची जिल्लाका विभिन्न पालिकाहरु भ्रमण गरेको पाइएको हो। फाल्गुन २२ गते नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम बराल, शिक्षा अधिकृत गोविन्द सुवेदी , सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर गोदार देखि नगर प्रमुख तुलसीराम रेग्मी र नगरप्रमुख रेग्मीकी श्रीमती राधादेवी रेग्मी पोख्रेल, छोरी बिन्दु रेग्मी सहित पालिकाको गाडी नै लगेर रोल्पाको रून्टीगढी, अर्घखाँची जिल्लाको सन्धीखर्क, शितगंगा नगरपालिका र धार्मीक स्थलहरू भ्रमण गरेर आएका छन् । उसो त पालिकाको स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि पालिकाका नै स्थानीय प्राकृतिक , ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुको अध्ययन गर्न आवश्यक हुन्छ तर नगरप्रमुखको परिवार र कर्मचारी मिलेर अनावश्यक खर्च गरेर मनपरि तरिकारले भ्रमणमा गएका हुन् ।

यता शिक्षा शाखा प्रमुख बाबुराम बरालले आफूहरुले थोरै खर्च गरेर स्थानीय पाठ्यक्रम निर्माण गर्न भ्रमण  गएको बताएका छन् । उनले भने, “अरु पालिकाका पनि दार्जलिङ्गदेखि अन्य ठाउँ भ्रमण गर्न गएका थिए तर हामीले त्यो खालको खर्च गर्न चाहेनौँ । स्थानीय पाठ्यक्रम बनाउन अन्य पालिकाले ४० देखि ५० लाखसम्म ठेक्का दिने गर्छन तर हाम्रो पालिकाले यहाँ कै स्थानीय शिक्षकहरुलाई केही भत्ता दिएर बनाउन लागेका हौँ ।’’ बरालका अनुसार भ्रमणको क्रममा गाडीको लागि तेल खर्च मात्र भएको र बाँकी खर्च व्यक्तिगत तवरले गरिएको हो। यदी पालिकाको हितकै निम्ति भ्रमण गरिएको हो र विधिसम्मत छ भने किन व्यक्तिगत तवरले खर्च गरियो? होइन भने सरकारी खर्चमा मनपरी भ्रमण किन? यी प्रश्नको उत्तर सरोकारवाला सबैले खोज्नुपर्ने बेला आएको छ।

नगरप्रमुखको श्रीमती सहित भ्रमणमा निस्किएको हुँदा यो भ्रमण बढी चर्चामा आएको बरालको दाबी छ। उनले भने, “ अरु पालिकाहरु कृषि भ्रमणदेखि अन्य शिर्षकमा बढी खर्च गर्ने तरिकाले जान्छन् । हामी त केबल तेलमात्र खर्च गरेर गएका हौँ । यो कुरा बढी विवादीत हुनुमा नगरप्रमुखले भ्रमणमा श्रीमती लिएर जाँदा भएको हो ।’’

तर पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी उक्त भ्रमण पाठ्यक्रम निर्माणको शिर्षकबाट नभएको बताउँछन् । उनले भने, “यो सबै हल्ला हो । हामी त्यो शिर्षकमा घुम्न गएको होइन् ।’’

बिज्ञापन

स्याङ्जामा रहेको ११ वटा पालिका मध्ये ८ वटा पालिकाको पाठ्यक्रम निर्माण गरेका साभ नेपालका अध्यक्ष डा. तुलसीराम खनालले उक्त भ्रमण स्थानीय पाठ्यक्रम निर्माणको मर्म र भावना विपरीत रहेको बताउँछ्न्। उनले भने, “स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि उक्त पालिकाका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरु भ्रमण गर्न आवश्यक रहेको छ तर बेजिल्लाको भ्रमणले पाठ्यक्रम निर्माण गर्नको लागि कुनै सहयोग गर्दैन।”

विज्ञापन


योसँगै सँगै भ्रमणमा निस्किएका नगर प्रमुख र शिक्षा शाखा प्रमुख दुबैजनाको कुरा फरक फरक आउँदा स्थानीय पाठ्यक्रम निर्माणका नाममा पालिकाको स्रोत र साधनको दुरुपयोग भएको प्रष्ट हुन्छ। त्यस्तै उक्त भ्रमणमा कति खर्च भयो भन्रे कुराको पालिकासँग एकिन तंथ्याक पाउन पनि सकस छ ।