सतौं घुम्नेका लागि चण्डीकालिका इको होमस्टे

जेठ ०८, २०८०


स्मार्ट संवाददाता, स्याङ्जा 

८ जेठ २०८०

स्याङ्जाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय गन्तव्य सतौं घुम्नेका लागि चण्डिकालिका इको होमस्टेले सुविधा दिन थालेको छ। स्याङ्जा सदरमुकामदेखि करिब ९ किलोमिटर दुरीमा रहेको चण्डीकालिका होमस्टे दरौं सिरूवारी पर्यटन मार्गमा पर्दछ। सतौंमा रहेको चण्डीमाइ देवीमा देश विदेशबाट समेत पूजाआजा गर्न श्रद्धालु भक्तजनहरू आउने  गर्दछ्न्। मनोकामना पूरा हुने भएकाले नेपालका विभिन्न जिल्ला र भारतबाट समेत पर्यटक आउने गरेको बताउँछन पुतलीबजार वडा नं १४ का अध्यक्ष जीतेन्द्र प्रकाश मल्ल। मन्दिरका पुजारी इन्द्र बहादुर रानाले पनि मनोकामना पूरा हुने भएकाले वर्षैभरी श्रद्धालु भक्तजन दर्शन, पूजापाठको लागि आउने बताए।

तेजप्रसाद शर्माले संचालन गरेको चण्डिकालिका इको होमस्टेमा सस्तो मूल्यमा स्थानीय रैथाने उत्पादनबाट पकाइएका खाद्यान्न परिकारहरूको स्वाद लिन पाइन्छ।प्रतिव्यक्ति रू १ हजार २ सयमा खाना, खाजा र बासको व्यवस्था छ। साँस्कृतिक कार्यक्रमको समेत मजा लिन सकिने यस होमस्टेमा अधिकतम १५ जना सम्मलाई बसोबासको सुविधा दिन सक्ने क्षमता छ।

नजिकै रहेको तपोभूमिका रूपमा परिचित खर्सु डाँडाबाट सूर्योदयको मनोरम दृश्य देख्न पाइन्छ। सतौंमा चण्डीदेवीको मन्दिरका साथसाथै पशुपतिनाथको मन्दिर र पुरानो सतौं दरबार पनि छ। एक ऐतिहासिक , पुरातात्त्विक र धार्मिक पहिचान बोकेको ठाउँ भएकाले आन्तरिक र बाह्य पर्यटनको समेत सम्भावना रहेको छ। अब सतौंबाट नै प्याराग्लाइडिङको मज्जा लिन पाइने गरी काम भैरहेको पर्यटन व्यवसायी कृष्णजङ्ग के.सी. ले बताए। प्याराग्लाइडिङ टेक अफको लागि महेन्द्र शाह स्मृति पार्कको मुखैमा पूर्वाधार निर्माणको काम भैरहेको उनको भनाई छ। सतौंमा अर्को साहसिक खेल रक क्लाइम्बिङको समेत सम्भावना रहेको वडा सदस्य राम प्रसाद ढकालले बताए।

होमस्टेको क्षमता विकासका लागि नगरपालिका र युएनडिपीको आर्थिक सहयोग र सूर्योदय क्लबको सहजीकरणमा संचालित हरित पुनरूत्थान कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग समेत गरेको क्लबका अध्यक्ष अनन्त श्रेष्ठले जानकारी दिए। इको होमस्टेमा स्थानीय उत्पादन, तरकारी, जडीबुटीको प्रयोगलाई उच्च प्राथमिकता दिइएको र स्थानीय उत्पादनलाई कसरी भिन्न स्वाद र परिकार बनाएर कसरी सदुपयोग गर्ने भन्ने विषयमा समेत तालिम दिइएको श्रेष्ठले बताए। पुतलीबजारमा सतौं, कोल्मा र हुनिकोटमा इको होमस्टे संचालनमा रहेका छन्।