५ वर्षमा गाउँ-गाउँमा कार आउँछ : नगर प्रमुख  कर्माचार्य

भदौ ०८, २०८०


नारायणप्रसाद कोइराला, स्याङ्गजा



८ भाद्र २०८०, शुक्रबार

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी


स्याङ्गजाको बालमैत्री नगरपालिका भीरकोटका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले ५ वर्ष भित्रमा भीरकोटका गाउँगाउँमा कार आउने गरी सडक स्तरोन्नति गरिने बताएका छन् l पालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरूले  पालिकाको ग्रामिण सडकको अवस्था एकदमै नाजुक रहेको र  जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो गरेपछि नगर प्रमुख कर्माचार्यले ग्रामीण सडकको  स्तरोन्नतिलाई पालिकाले प्राथमिकता राखेको तर नतिजा आउन केही समय लाग्ने बताए l वडा नम्बर ३ मा अवस्थित शहिद शुक्र मा. वि. मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको गुनासो सम्बोधन गर्दै नगर प्रमुख कर्माचार्यले भने, “२०८४ को चुनावमा गाउँगाउँमा उम्मेदवारहरू कार लिएर चुनावको प्रचारप्रसारमा आउने छन् l ”

पालिकाले आ.व. २०७९/८० को दोस्रो र तेस्रो चौमासिकमा गरेका विकास निर्माणका कार्यहरू र सार्वजनिक सेवा प्रवाहका विषयमा पहिलो पटक पालिकाको केन्द्र बयरघारी बजार  भन्दा बाहिर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो l पालिकाको आयोजना र  छायाँक्षेत्र मिडिया प्रा.लि., वालिङको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमममा उपस्थित नागरिकहरूले  ग्रामीण सडक, खानेपानी , विद्युत, पुल , शैक्षिक गुणस्तर, दिगो विकास, बाँदर आतंक,  बढ्दो बसाईंसराई, रोजगारी, कृषिको व्यवसायीकरण लगायतका विषयमा नगरले स्पस्ट नीति र योजना बनाउनुपर्ने माग गरेका थिए l

छायाँक्षेत्र मिडिया प्रा.लि. का सम्पादक अमृत अर्यालले सहजीकरण गरेको कार्यक्रममा  प्रमुख जवाफदेही वक्ताको रूपमा नगर प्रमुख कर्माचार्यले जनताको चासो, गुनासो र समस्याको जवाफ दिएका थिए l नगर प्रमुख क्रमाचार्यले  सबै जनचासो र गुनासोको यथोचित सम्बोधन गर्ने बताउँदै नयाँ आर्थिक वर्ष २०८०/८१ देखि पालिकाले हरेक निर्माण कार्यको गुणस्तर जाँच गर्ने प्राविधिक तयारी गरिरहेकाले उपभोक्ता समितिलाई गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग गरी बजेटको सही सदुपयोग गर्न सुझाव  दिएका थिए l प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले गत आवमा पालिकाले कार्यान्वायन गरेका योजना र उपलब्धीहरूको  बारेमा चर्चा गरेका थिए l उपस्थित वडा अध्यक्षहरू केशर बहादुर खड्का, कृष्ण बहादुर थापा , लक्ष्मण खत्री क्षेत्री, तारा प्रसाद अर्याल, नन्दलाल खनालले आ.व . २०७९/८० मा  आ आफ्नो वडाले सम्पन्न गरेका  मुख्य योजना र उपलब्धीबारे जानकारी गराएका थिए l

 नेपाली काँग्रेस भीरकोटका नगर सभापति याम प्रसाद अधिकारीले नगरका गौरबका योजना, व्यवसायिक कृषि र  पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका थिए l शहिद शुक्र मा. वि. का अध्यक्ष केशर बहादुर अधिकारीले पालिकाले गुणस्तरीय र गरिखाने शिक्षालाई जोड दिनुपर्ने बताए l कृषि अनुदान कृषकको लगानी र उत्पादनका आधारमा दिनुपर्ने र स्वास्थ्य संस्थामा सरकारले तोकेका सबै  प्रकारका औषधी उपलब्ध हुनुपर्ने उनको माग थियो l