पब्लिक आवाज पत्रिका ९ बर्षदेखि निशुल्क वितरण

भदौ १७, २०७९


स्मार्ट अखबार संवाददाता
१७ भाद्र २०७९

स्याङ्जाको वालिङबाट प्रकाशित पब्लिक आवाज पत्रिकाले स्थापनाकालदेखि नै समुदायको हितका लागि प्रकाशनलाई महत्व दिंदै आएको छ । विगत ९ बर्षदेखि खोजमूलक समाचार लगायत विविध विषयहरुमा पब्लिक आवाजले सूचना, शिक्षा तथा सञ्चारका विविध सामग्रीहरु प्रकाशन गर्दै आएको छ । यसैंको सिलसिलामा विगत ९ बर्षदेखि यो पत्रिका बजारमा निशुल्क रुपमा वितरण हुँदै आएको हो । पत्रिकाको बिक्री मूल्य दस रूपैयाँ कायम गरिएको भएपनि यस मिडियाले पाठकहरुलाई पत्रिका निशुल्क वितरण गर्दै आएको जनाएको छ ।

छायाँक्षेत्र मिडिया प्रालीले २०७० देखि “पब्लिक आवाज” साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको छ । यस पत्रिकाले विशेष गरी ग्रामीण स्तरमा जनतासँग प्रत्यक्ष रुपमा रहेर जनआवाज सम्बन्धि प्रकाशनलाई निरन्तरता दिएको पाईन्छ । यस पत्रिकामा लुके र लुकाईएका समाचारहरुलाई समेटिएको हुन्छ भने सफलताका कथाहरु समय समयमा प्रकाशन हुँदै आएको छ । यस पत्रिकामा महिलामाथि हुने शोषण, महिला अधिकार आदि विषयवस्तुहरुलाई समेटिएको हुन्छ ।

यो पत्रिका नेपाल सरकारबाट “ख” वर्गमा सुचिकृत स्याङ्जाको वालिङबाट निरन्तर प्रकाशित पत्रिका हो । निःशुल्क रुपमा गाउँवेशीमा समेत उपलब्ध यस पत्रिका प्रत्येक पालिकामा पुग्ने एउटा मात्र नियमित पत्रिका हो । हुलाकमार्फत प्रत्येक पालिकामा अनि कुरियर सेवा मार्फत प्रत्येक जिल्लामा, मिडियाका सहकर्मीमार्फत वालिङ, बयरघारी, बगरेबजार, हेलु र पर्वतको हुवास तथा अनलाईन मार्फत संसारभर पढ्न सकिने यस पत्रिकालाई थप जिम्मेवार बनाउने अभियानमा लागेको सम्पादक अमृत अर्यालको भनाई छ । दैनिक पत्रपत्रिका तथा अन्य पत्रपत्रिका यातायातको असहजता र महँगो हुलाक सेवाका कारण गाउँघरमा सहज रुपमा पुग्न नसकेको हुन सक्छ । तर यो पत्रिका धेरै ठाँउमा पुगेको मिडियाको दाबी छ ।
नेपाली पत्रकारिताको इतिहासले १ सय १५ वर्ष नाघिसकेको छ । यो बिचमा राजनैतिक र धार्मिक पत्रकारिताले विशिष्टिकृत रुप लियो । तर जनताको सूचनाको अधिकार र आधारभुत सेवाका लागि वकालत र पैरवी गर्नेहरुको अभाव खट्किनै रह्यो । नेपाली पत्रकारिता स्वतन्त्रभन्दा साहुुतन्त्र भएका कारण साहुुको इच्छा, चाहना र विज्ञापनदाताको रुचीमा चल्दै आएको छ ।

स्याङ्जाको पत्रकारिताको इतिहासमा विगत ९ वर्षदेखि निरन्तर प्रकाशन भएको पत्रिकाको नाममा पब्लिक आवाजको नाम गर्वका साथ लिन सकिन्छ । जनतालाई स्वास्थ्यमा सचेतना जगाउने र सरकारलाई खबरदारी गर्ने काम यसले निरन्तररुपमा गरिरह्यो । पब्लिक आवाजमा समाविष्ट सामग्री समयसान्दर्भिक रहेको र राम्रो भएको प्रतिक्रिया पाठकको रहेको छ । केही पाठकले सहज र सजिलोसँग बुुझिने खालको भएको र केहीले पर्याप्त नभएको बताए ।

पत्रिका समयमै प्राप्त भए राम्रो हुने र पत्रिकाको पाना संख्या ६ पानाबाट अलि बढाउन सकेको भए अझ धेरै बिषय बस्तु अटाउने थियो भन्ने पाठकहरुको सुझाव छ । यस पत्रिकाका नियमित पाठक युवराज गौतमले भन्नुभयो, “स्थानीय समाचारलाई प्राथमिकता दिने भएकाले नियमित रूपमा पढ्छु। आजभोलि पत्रिका सन्तुलित र निष्पक्ष पनि हुन थालेको छ।”



भीरकोट नगरपालिकाका सूचना अधिकारी विष्णु कोइरालाले भन्नुभयो, “पत्रिकाले समसामयिक र स्थानीय विषयवस्तुलाई प्राथमिकता साथ समेट्दै आएको छ। स्थानीय पत्रिका भएपनि राष्ट्रिय स्तरको जस्तै राम्रो छ।”

मालपोत कार्यालय वालिङका प्रमुख रबिन अधिकारीले भन्नुभयो, “म नियमित पाठक त हैन तर पत्रिका राम्रै छ।स्थानीय विषयवस्तुलाई प्राथमिकता दिएको पाइन्छ।स्थानीय अधिकारीहरूको अन्तर्वार्ता पनि पढ्न पाइन्छ।”