निर्वाचित र उपविजेता क्षेत्रीय प्रतिनिधिको घरदैलोमा
आश्विन १२, भीरकोट खबर डेस्क,
नेपाली काङ्ग्रेसको भीरकोट नगर अधिवेशनबाट निर्वाचित नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) र उपविजेता दीपेन्द्र के.सी चुनावी नतिजा घोषणा भए पछि क्षेत्रीय प्रतिनिधिहरूको घरदैलोमा पुग्नुभएको छ। नगर अधिवेशनमा सक्रिय सहभागी भएर मतदान गरेकोमा धन्यवाद तथा आभार व्यक्त गर्न उहाँहरू क्षेत्रीय प्रतिनिधिको घरदैलोमा पुग्नुभएको हो। चुनाव अगाडि जी हजुरी गर्ने र हारजीत भएपछि नाक मुख नदेखाउने परम्परागत प्रवृतिलाई तोड्दै विजेता र उपविजेता दुवै जना छुट्टाछुट्टै आफ्नै पार्टीका २०३ जना मतदातालाई धन्यवाद दिन निरन्तर गाउँघर घुमिरहनुभएको हो।
युवा नेतृत्वमा देखिएको प्रजातान्त्रिक आचारण र कार्यकर्तामैत्री व्यवहारले प्रतिनिधिहरू पनि खुसी छ्न्। १४ औं नगर अधिवेशनबाट भीरकोट काङ्ग्रेसको नेतृत्व युवाको काँधमा आएको छ। १ मतको झिनो अन्तरले चुनाव जितेका अधिकारी र उपविजेता के.सी. बिच सहकार्यका दृश्यहरू देखिन थालेका छ्न्। हैकमवादी र तानाशाही प्रवृतिका कारण २०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसको चुनावी सफलता अपेक्षित भन्दा केही कमजोर देखिएको थियो। पार्टी सशक्तीकरण गर्न र पार्टीलाई थप प्रजातान्त्रिक बनाउन नयाँ नेतृत्वले विशेष कार्ययोजना सहित अगाडि बढ्नुपर्ने देखिएको छ।