संविधान सभा सदस्य स्व. पङ्गेनीको स्मृतिमा पाँचौ स्मरण सभा
नारायणप्रसाद कोइराला, स्याङ्जा
२० साउन २०८०
नेपाली काँग्रेस स्याङ्जाका तत्कालिन सभापति एवं संविधान सभा सदस्य स्व. कमल प्रसाद पङ्गेनीको स्मृतिमा पाँचौ स्मरण सभा गरिएको छ।
स्मृती सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति एवं प्रमुख अतिथी मेखलाल श्रेष्ठले संगठन र विकास निर्माणलाई प्राथमिकता दिन सकेमा मात्र विकासप्रेमी नेता स्व. पङ्गेनीप्रती सच्चा श्रद्धाञ्जली हुने बताए। स्व. पङ्गेनीको गुणगान गाउनु भन्दा पनि उनको इच्छा र चाहना अनुसार स्वच्छ, सुसंस्कृत , सभ्य, आत्मनिर्भर र समृद्ध समाजको निर्माण लाग्नुपर्ने श्रेष्ठको भनाई छ।
नेपाली काँग्रेस भीरकोट नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) ले स्व. पंगेनीको समाजसेवाको अभियानलाई पूर्णता दिन “कमल पंगेनी स्मृति प्रतिष्ठान” को पुनर्गठन गरी यसका गतिविधिलाई जनताले अनुभूति गर्ने गरी संचालन गर्नुपर्ने बताए l प्रतिष्ठानका गतिविधि बढाउन “कमल पंगेनी स्मृति कोष ” को स्थापना गर्नुपर्ने उनको धारणा छ l स्व. पंगेनी राजनीतिक पथप्रदर्शक भएको बताउदै उनले स्व. पंगेनी स्याङ्गजाको विपी भएको बताए l
नेपाल तरूण दल स्याङ्जाका सभापती एवं पूर्व प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लले स्व. पङ्गेनी एक कुशल राजनीतिक सहयात्री भएको स्मरण गरे। स्व.पङ्गेनीको अवसानले स्याङ्जाको विकास र राजनीति दुवै पछाडी परेको उनको अनुभव छ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले स्व. पङ्गेनी सहयोगी, सम्मानित र आदरणीय व्यक्तित्व भएको स्मरण गरेका थिए। कमल पङ्गेनीको योजना र सपना अनुरूप भीरकोटको विकासमा एकजुट भएर लागेमा मात्र स्व. पङ्गेनीप्रती सच्चा श्रद्धाञ्जली हुने नगर प्रमुख कर्माचार्यको विचार छ। नगर प्रमुख कर्माचार्यले स्व. पङ्गेनीको सम्झनामा बयरघारी मोहनडाँडा सडकलाई कमल पङ्गेनी मार्ग नामाकरण गर्न लागिएको जानकारी दिए।
निवर्तमान नगर प्रमुख छायाराम खनालले स्व. पङ्गेनीले परिवारलाई भन्दा पार्टी र राजनीतिलाई पहिलो प्राथमिकता दिएको स्मरण गरेका थिए। खनालले स्व. पङ्गेनी राजनीति भन्दा माथि उठेर समाजका सबै तह र तप्काका मानिसहरूलाई सहयोग गर्ने एकदमै दयालु, सहयोगी र मानवतादी नेता भएको बताए। उनले “कमल पङ्गेनी स्मृति दिवस” पार्टीले नितिगत निर्णय गरेर जिल्लाभर नियमित रूपमा मनाउने व्यवस्था मिलाउनुपर्ने बताए।
स्मृती सभामा बोल्दै नेपाली काँग्रेस भीरकोटका निवर्तमान नगर सभापति तोयनाथ अर्यालले स्व. नेता पङ्गेनीको सपना र योजना अनुरूप पार्टी संगठित भएमा मात्रै पङ्गेनीप्रती सच्चा सम्मान र श्रद्धाञ्जली हुने बताए।
नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिको आयोजनामा बयरघारीमा आयोजित स्मृति सभा नेपाली काँग्रेस भीरकोटका सभापती याम प्रसाद अधिकारी सभापतित्व र नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति एवं पूर्व मन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
नेका भीरकोट नगर उपसभापति विष्णुमाया काफ्लेको स्वागतसँगै सुरू भएको स्मृती सभामा नेविसंघ नेता हेमप्रकाश गुरूङ, नेपाल तरूण दल भीरकोटका सभापती राजकुमार गुरूङ , युवा नेताहरू दिपेन्द्र के.सी., रामकृष्ण अर्याल, शेषकान्त खनाल, पिताम्बर श्रेष्ठ , नगर उपप्रमुख भगवती रेग्मी अर्याल, निवर्तमान नगर उपप्रमुख सिमा के.सी.कर्माचार्य, स्व. पङ्गेनीका दाजु लिलाप्रसाद पङ्गेनी, भीरकोट नगर उपसभापति जगदीश प्रसाद कोइरालाले आफ्नो मन्तव्य राखेका थिए।
स्मृतिमा सभामा बोल्दै वक्ताहरूले स्व. कमल पङ्गेनीप्रती भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उनको आदरणीय र अनुकरणीय राजनीतिक , सामाजिक व्यक्तित्वको स्मरण गरेका थिए। विपिमार्गी स्व. नेता पङ्गेनी इमान्दार, नैतिकवान र विकासप्रेमी नेता भएको वक्ताहरूको भनाई थियो। उनी एकल कुशल संगठक, उत्प्रेरक र पार्टीको जिम्मेवार अभिभावक भएको स्मरण गर्दै वक्ताहरूले पार्टीका नेता र कार्यकर्ता उनले देखाएको बाटोमा हिड्नुपर्ने बताएका थिए।
३६ सालदेखी विद्यार्थी आन्दोलनबाट नेपाली काँग्रेसको राजनीतिमा हामफालेका लोकप्रिय नेता स्व. पङ्गेनीको २०७५ साउन २० गतेका दिन हृदयघातका कारण निधन भएको थियो।