भीरकोटमा अक्सिजन प्लान्टबाट सेवा सुरु

जेठ २५, २०७८


भीरकोट न्युज डेक्स
स्याङजा, २४ जेठ । भीरकोट नगर अस्पतालले सोमबारदेखि अक्सिजन सहितको सेवा सुरु गरेको छ । भीरकोटले जिल्लामै पहिलो पटक र राष्ट्रिय आविश्कार केन्द्रले नेपालमै पहिलो पटक यो प्रविधिवाट अक्सिजन प्लान्ट स्थापना गरेको हो ।
राष्ट्रिय आविष्कार केन्द्र र भीरकोट नगरपालिकाको साझेदारीमा अक्सिजन प्लान्ट निर्माण गरी सोमवार भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरिएको छ ।
महाबीर पुनद्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलोपटक मिनी अक्सिजन प्लान्ट भीरकोट नगर अस्पतालमा निर्माण गरेको हो । बैकल्पिक प्रविधिको सफल परीक्षणपछि सफलता मिलेको नगर प्रमुख छाँयाराम खनालले जानकारी दिए। नगरपालिका र आविष्कार केन्द्रको ५०/५० प्रतिशतमा उक्त प्लान्ट निर्माण भएको हो। ’उनले भने,’बीस लाखको लागतमा सम्पन्न हुने केन्द्रले जनाएको छ।’




कोभिड १९ कोे महामारी फैलिएर र अक्सिजनको अभाव भैरहेको बेला आविष्कार केन्द्रले अक्सिजन उत्पादनगरी एकै पटक १२ वटा शैयामा पुग्ने ब्यवस्था मिलाएको छ।
नेपालमा अक्सिजनको अभाव देखिएसंगै आविष्कार केन्द्रले वैकल्पिक व्यवस्थाको लागि यो प्रविधिको आविष्कार गरेको इन्जिनियर रितेश देवले बताए। यहाँ उनी लगायत ८ जनाको प्राबिधिक टिमले ३ दिनमा मिनि अक्सिजन प्लान्ट स्थापनाको काम पुरा गरेर नगरप्रमुख खनाललाई सोमबार हस्तान्तरण गरेका हुन।
मिनि प्लान्टमा ७ वटा अक्सिजन कन्सन्ट्रेटरलाई एसेम्वल गरी ६५ लिटर प्रति मिनेट अक्सिजन उत्पादन गरी दुईवटा टेंक जसमा लो प्रेसर टैंकबाट कम्प्रेशर गरी हाईप्रेशर टैंक मार्फत अस्पतालका १२ वटा शैयामा प्रति मिनेट ६५ लिटर बितरण हुनेगरी अक्सिजन जडान गरिएको छ । जडान गरिएको अक्सिजन आवश्यकता अनुसार प्रेसर थप घट गर्न सकिने छ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले भीरकोट नगर अस्पतालमा निर्माण गर्ने भनिएको अक्सिजन प्लान्टलाई राजनीतिकरण गरी सो कार्य स्थगित गरिएको बेला नगरपालिकाले आफनै पहलमा अक्सिजन प्लान्ट स्थापना गरेकोमा खुशी ब्यक्त गर्दे आविश्कार केन्द्र र भीरकोट नगरपालिका र नगरबासी सबैलाई धन्यवाद दिए ।



कार्यक्रममा अर्जुनचौपारी गाँउपालिकाका प्रमुख दिर्घनारायण अर्याल, वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारी, भीरकोट नगर अस्पताल व्यवस्थापन समितीका अध्यक्ष तोयानाथ अर्याल, भीरकोट नगरपालिकाका नगर प्रवक्ता दिपेन्द्र केसी, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल, योजना अधिकृत यामप्रसाद रेग्मी, इन्जिनियर रितेश देव लगायतले अक्सिजन प्लान्ट तत्काल कोरोना संक्रमितका लागि लक्षित भएता पनि पछि अन्य बिरामीको उपचारमा उपयोग गर्न सकिनेगरी दिर्घकालिन सेवा उपलब्ध हुने बताउदै आविश्कार केन्द्रका प्रमुख महाबीर पुन र उनका सहयोगीप्रति आभार ब्यक्त गरेका थिए।
यसैगरी, मेकानिकल इन्जिनियर रितेश देवले सोमबार नै भीरकोट नगरप्रमुख छायाराम खनाललाई मिनि अक्सिजन प्लान्ट पुरा भएको जानकारी गराउदै हस्तान्तरण गरे ।