महिलाहरू नेतृत्व लिन अग्रसर हुनुपर्छ : नगर प्रमुख खनाल

असोज २१, २०७८


भीरकोट नगरपालिकाको आयोजनामा संचालित ३ दिने नेतृत्व विकास कार्यक्रम  समापन भएको छ। भीरकोट नगरपालिकाका महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको नेतृत्व विकास कार्यक्रममा National Institute for Leadership Development का कार्यकारी निर्देशक उषा मल्ल सिंहले प्रशिक्षण दिनुभएको थियो। नेतृत्व कार्यक्रममा समाजमा व्याप्त महिलाहरूप्रतिको लैङ्गिक दृष्टिकोण र सार्वजनिक भाषणकलालाई प्राथमिकतामा राखेर प्रशिक्षण दिइएको थियो।






नगर प्रमुख छायाराम खनालको प्रमुख आतिथ्यता र नगर उपप्रमुख सिमा केसी कर्माचार्यको सभापतित्वमा संचालन भएको समापन समारोहको संचालन नेतृत्व विकास तालिमकी सहभागी तिरमाया गुरूङले गर्नुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, वडा अध्यक्षहरू दिपेन्द्र केसी, याम प्रसाद अधिकारी (लक्ष्मण), शेषकान्त अर्याल र नेपाली काङ्ग्रेस भीरकोटका नगर सचिब नन्दलाल खनालको समेत सहभागिता रहेको समारोहमा बोल्दै नगर प्रमुख खनालले महिलाहरूले तालिममा सिकेका नेतृत्व विकासका कुराहरूलाई व्यवहारिक कार्यान्वयन गर्दै नेतृत्व लिन अग्रसर हुनुपर्नेमा जोड दिनुभएको थियो। सामाजिक न्याय स्थापना गर्दै समाजको विकास गर्न महिलाहरूको अहम् भूमिका रहने प्रष्ट पार्दै उहाँले तालिममा सहभागी सबै महिला जनप्रतिनिधिहरूलाई सफलताको शुभकामना दिनुभएको थियो।


समापन समारोहमा बोल्दै नगर उपप्रमुख कर्माचार्यले कोभिड-१९ को कारणले रोकिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो।आरक्षणमा रमाउने प्रवृति र संस्कारबाट माथि उठ्न आवश्यक रहेको बताउँदै उहाँले नेतृत्व विकास कार्यक्रममा सिकेका कुराहरू व्यवहारमा उतार्न सकेमा मात्र महिलाहरूले वडा र नगरको नेतृत्व लिन सक्ने कुरामा जोड दिनुभएको थियो। तालिममा सहभागी प्रतिनिधिहरूले आफ्नो आत्मविश्वास बढेको र अब पहिले भन्दा राम्रोसँग आफ्ना कुराहरू प्रस्तुत गर्न,सार्वजनिक कार्यक्रमहरू संचालन गर्न ,प्रभावकारी सञ्चार गर्न र आवश्यक परेको बेलामा नेतृत्वदायी भूमिका खेल्न सक्ने क्षमता विकास भएकोमा खुसी व्यक्त गरेका थिए।