नेपाल विद्युत प्राधिकरणको स्मार्ट सडकबत्ति जडान कार्यक्रम : भीरकोटका सडक उज्यालो बनाउने सुवर्ण अवसर।
भदौ १०, भीरकोट खबर डेस्क
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्को नियुक्ती भएसँगै विद्युत क्षेत्रमा पुन: सुधार र व्यवस्थापनका कार्यक्रमहरू अगाडि बढ्न थालेका छ्न् । पहिलो कार्यकालमा लोडसेडिङ युगको अन्त्य गर्दै प्राधिकरणलाई नाफामा लैजान सफल घिसिङलाई नेपाली जनताको मागलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस नेतृत्वको देउवा सरकारले पुन: नियुक्ती गरेको हो ।
विद्युत प्राधिकरणले उज्यालो शहर कार्यक्रम अन्तर्गत सबै स्थानिय तहलाई गाउँ शहरका सडक मार्ग उज्यालो बनाउन विद्युत प्राधिकरण सँग साझेदारी गरी स्मार्ट सडक बत्ती जडानमा सहभागी हुन आह्वान गरेको छ। अध्यारोमा हुने अप्रिय घटना न्यूनीकरण गर्न, रातीमा सहज आवतजावत गर्न, रात्रीकालिन व्यवसाय तथा शहरी सौन्दर्यको प्रवर्द्धन गर्ने उद्देश्यले उज्यालो शहर कार्यक्रम अघि सारेको हो ।
विद्युत प्राधिकरणको उज्यालो शहर कार्यक्रममा साझेदारी गरी भीरकोटको मुख्य तथा ग्रामीण सडकमा स्मार्ट सडक बत्ती जडान गर्न सकेमा शहरी सौन्दर्यमा अभिवृद्धि हुनुका साथै रात्रीकालिन आवतजावतलाई पनि सहज गर्न सकिन्छ। ग्रामीण सडकहरूमा स्थानीय प्रयासमा जोडिएका बत्तीहरूलाई पनि थप व्यवस्थित र स्मार्ट बनाउन सके गाउँघरमा पनि शहरीकरणको अनुभूति दिलाउन सकिन्छ ।
भीरकोटलाई स्मार्ट सिटि बनाउने पहिलो प्रयासका रुपमा नगरपालिकाले प्राधिकरणको उज्यालो शहरको कार्यक्रममा साझेदारी गरेमा भीरकोटको नीति तथा कार्यक्रममा समेटिएको उज्यालो शहरको कार्यक्रमले परिणाममुखी सफलता प्राप्त गर्नेछ । यो गाउँ शहर उज्यालो बनाउने सुवर्ण अवसरलाई सदुपयोग गर्न भीरकोट खबर भीरकोट नगरपालिकालाई हार्दिक अनुरोध गर्दछ ।