स्याङ्जामा बाँदर आतंकः समाधानका प्रयास सार्थक भएनन्
२९ साउन २०७९
युवराज पौडेल, स्याङ्जा
स्याङ्जा जिल्लाका विभिन्न स्थानहरूमा अहिले बाँदर र जङ्गली जनावरको आतङ्क बढेको छ । बाँदर, मृग, खरायो, न्याउरी मुसो, दुम्सीलगायतका वन्यजन्तुले किसानले फलाएका बालीनाली विनास गरेपछि किसान चिन्तित बनेका छन् । दुःख गरेर खेती लगाए पनि पाक्न नपाउँदै जीवजन्तुले विनास गरिदिएपछि किसानहरू तनावमा परेका छन् । एउटा जीवजन्तुले मात्र होइन, थुप्रै जीवजन्तुले तरकारी र फलफूल तथा अन्नबाली विनास गरिदिन थालेपछि किसानहरूको भोक र निद्रा हराउन थालेको छ । बाँदरको अतिक्रमणका कारण स्याङ्जा जिल्लाभित्रका थुप्रै खेतीयोग्य जमिन अहिले बाँझो हुन थालेका छन् । किसानहरूले अहिले गाउँमा खेती गर्न छाड्दै गएका छन् । पहिले पहिले मकै, कोदो तथा तरकारी लगाइरहेका ठाउँहरूमा पनि अहिले बाँदरकै कारण खेती गर्न छाडिएको छ । ठूलो सङख्याको बाँदरको फौज आएर किसानले दुःख गरेर लगाएको तरकारी र फलफूल खाइदिने तथा विनाश गर्दै आएका छन् । गाउँमा पहिले जस्तो बाँदरको फौज आउँदा लखेट्ने युवा जनशक्ति पनि छैनन् । तागत नभएका बुढाबुढी र साना केटाकेटीलाई बाँदरले पनि टेर्न छाडेको किसानहरूले बताउँछन् ।
बिरुवा गाउँपालिका वडा नं ३ राङभाङकी उजेली थापाले भन्नुभयो, ‘आफू त बुढी भइयो । पहिले तागत हुन्थ्यो र जति बाँदर पनि एक्लै लखेट्थे । अहिले त रोगी भइयो । छोरा, नाति पनि सहरमा छन् । हेर्दाहेर्दै बाँदरले घरभित्रैबाट मकै लिएर जान्छ ।’
वास्तवमा तीव्र सहरीकरण र आधुनिकीकरणका कारण मानिसहरू सहरबजारमा केन्द्रित हुँदा गाउँमा जनसङ्ख्या पातलिँदै गएको छ । मान्छे कम भएकाले बाँदरले पनि थोरै मान्छेलाई टेर्न छाडेको स्थानीयहरूले बताएका छन् । बाँदरको व्यवहार पनि पहिले जस्तो नभएको, बाँदर रिसाएर आक्रामक शैलीमा घरघरमा पस्न थालेका तथा उस्तै बुढो र दुब्लो मानिसलाई बाँदरले उल्टो कोपर्न आउने गरेको किसानहरूले बताएका छन् ।
पुतलीबजार ११ करेन्डाँडाकी पूजा शर्माले बाँदरले खाएका दुई डोकाभन्दा बढी भुँइकटहर आँगनमा जम्मा गर्दा आँगन नै ढाकियो । शर्माले भन्नुभयो, ‘पहिले मुसाले मात्र भुँइकटहर खान्थ्यो । अहिले त एकै दिन बाँदरको फौज आएर भुँइकटहर सत्यनास पारिदियो । गुलियो पसेका भुइँकटहर सबै कोपरेर फालिदियो ।’ उहाँले भन्नुभयो, ‘तरकारी जति मृग र दुम्सीलाई अन्य फलफूल र अन्नबाली बाँदरलाई लगाइदिए जस्तो भयो । अब किसानले खेती गरेर बाँच्ने स्थिति छैन ।’ आँधीखोला २ बसेबारीका दोचनप्रसाद शर्माले भन्नुभयो, ‘बाँदरले दिनसम्म दुःख दिइराखेको छ । तरकारी र फलफूल लगाउनै नपर्ने भयो । बाँदरले हैरान पारेर पोहोर सालदेखि मकै कम मात्र लगाइयो । यो ठुलो समस्या भयो ।’ बाँदरले मकै पाक्न नपाउँदै डाँठमै खाइदिन थालेपछि आँधीखोलाका किसानहरूले पहिले जस्तो मकै लगाउन छाडेको पनि शर्माले बताउनुभयो ।
भीरकोट ४ का विष्णुप्रसाद ढुङ्गानाले भन्नुभयो, ‘किसानलाई अरूले त सताएकै थिए वन्यजन्तुले पनि हैरान पारे । मकै, कोदो, तरकारी, फलफूल जे लगाए पनि बाँदरको हुल आएर एकै छिनमा सत्यनास पारिदिन्छ । काउली, बन्दा, साग लगाए मृगले खाइदिन्छ । अब हामीले कसरी खेती जोगाउने हो ?’ भीरकोट क्षेत्रमा पनि बाँदर आतङ्क त्यतिकै भयावह भएको ढुङ्गानाले बताउनुभयो । पुतलीबजार ४ का ज्ञानु पोख्रेलले भन्नुभयो, ‘पहिले जङ्गलमा वा लेकतिर मात्र बाँदर देखिन्थे । अहिले बजार क्षेत्रमा पनि बाँदर पसेका छन् । बाँदर नलाग्ने ठाउँ भन्ने नै भएन । हाम्रो ठुलीबेंसी फाँटमा बाँदर पहिले लाग्दैनथ्यो तर अहिले बाँदरले यहाँ बस्नै दिएको छैन ।’ पुतलीबजारका ठुलीबेंसी, बाडखोला पुतलीखेत, राङखोला, बगालथोक, नागडाँडा जस्ता बजार क्षेत्रमा समेत बाँदर देखिन थालेको स्थानीयहरुले बताएका छन् । वालिङ ४ मा विदेशबाट फर्केर व्यावसायिक बाख्रापालन तथा कृषि व्यवसायमा सक्रिय किसान उमाकान्त रिजालले भन्नुभयो, ‘मैले बाख्रापालनका अतिरिक्त अन्य वैकल्पिक कृषि खेती के गर्ने भनेर सोचेको छु । बाँदरले नखाने चिज के हुन सक्ला भनेर विचार गरेको छु । बाँदर र वन्यजन्तुले नखाने खेती गर्ने विचार गरेको छु ।’ उहाँले वालिङमा बाँदरका कारण धेरै किसान विस्थापित हुनुपर्ने स्थितिमा पुगेको समेत बताउनुभयो ।
समाधानका प्रयासहरूः
किसानहरूले दुःख गरेर लगाएको बालीनाली बाँदरले खाइदिएर दुःख दिन थालेपछि स्याङ्जा जिल्लाका स्थानीय तहहरूले यसको समाधानका लागि विभिन्न प्रयासहरू पनि गरे । विभिन्न खालका छलफल र गोष्ठी आयोजना गरे । जिल्ला समन्वय समितिसहित जिल्लाका सरोकारवाला पनि विभिन्न चरणमा बसे । स्थानीय तहहरूबाट किसानहरूलाई एउटा बन्दुक आकारको पाइपबाट बनाइएको हतियार पनि बाँडियो ।
विष्फोटक पदार्थबाट आउने आवाजबाट बाँदर तर्साएर भगाउन सकिन्छ भनेर त्यसलाई स्थानीय तहबाटै किसानका लागि वितरण गर्ने काम समेत गरियो । तर त्यो उपाय पनि प्रभावकारी हुन सकेन । एकातिरका बालीमा पुगेका बाँदरलाई आवाजले तर्साएर अर्कोतिर पठाउने अनि अर्कोतिरकाले पुनः अर्कोतिर पठाउने गर्दा बाँदर यता र उति गर्ने मात्र भए । पछिपछि त बाँदरले यो आवाजलाई सहजै पचाइदिन थाले । बाँदरलाई छोपेर पाल्ने भन्ने खालका छलफल पनि भए । तर यो पनि सैद्धान्तिक कुरामात्र भयो । घरमा मान्छे पाल्न गाह्रो हुन थालेका वर्तमान जटिल सामाजिक परिवेशमा बेलामा बाँदर पाल्ने कुरा व्यावहारिक नभएको स्थानीयहरूले बताए ।
स्याङ्जाबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसद नारायण मरासिनीले प्रतिनिधि सभाको शुन्य समयमा बाँदर आतङ्कले स्याङ्जामा किसान पीडित भएको कुरा उठाउनु भयो । स्याङ्जाबाट प्रदेश सांसदका रूपमा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद भागवत् प्रकाश मल्लले पनि बाराम्बार सभामा बाँदर आतङ्कले किसानले दुःख पाएको र यो समस्या भयावह बनिरहेको कुरातर्फ संसदको ध्यानाकर्षण गराउनुभयो । बाँदर आतङ्कले किसान अत्यधिक पीडित भएको थाहा पाएपछि सांसद मल्ल त बाँदरको गतिविधि अवलोकन गर्न पटक पटक किसानसँगै मकैबारीमा पनि पुग्नुभयो ।
समस्याको राष्ट्रिय समाधान भेटिएनः
राष्ट्रिय रूपमै समस्या बनिरहेको बाँदर आतङ्क समाधानको ठोस र व्यावहारिक विकल्प यतिबेलासम्म फेला परिसकेको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले घरपालुवाबाहेक जुनसुकै जातिका स्तनधारी जन्तु, पन्छी, घस्रिने जन्तु, माछा, भ्यागुता र कीरा फट्याङग्रा इत्यादिलाई संरक्षण गरेको छ । यी संरक्षित जनावरलाई हानिनोक्सानी पु¥याए दण्ड सजायको व्यवस्था छ । बाँदरलाई मार्ने र बन्ध्याकरण गर्ने, समात्ने, पाल्ने लगायतका कार्यहरू यस ऐन अन्तर्गत दण्डनीय हुने अवस्था छ ।
यो खालि ऐनको मात्र कुरा पनि होइन । ऐनको व्यवस्था पनि वातावरणीय प्रणालीको संरक्षण गर्ने असल मनसायबाट नै प्रेरित छ । तर पछिल्लो समयमा आएर नेपालका पहाडी इलाकामा झाडी र वन क्षेत्र बढ्दै जाँदा वन्यजन्तुको अतिक्रमणबाट किसानका अन्नबाली तथा उपजहरू नष्ट हुन थालेपछि यो ठुलो समस्या बन्दै गएको हो ।
वातावरणीय चक्र अथवा इको प्रणालीबाट नै मानव लगायत सबै प्राणीको अस्तित्व सम्भव भएको हो । बाँदर अतिक्रमणको रोकथामका लागि सुझाइएका हालका उपायहरूमा बाँदरको बन्ध्याकरण वा ‘एक घरः एक बाँदर’ जस्ता कुरा घुमाइफिराइ बाँदर समाप्त गर्ने उपाय नै हुन् । कतिपय स्थानीय तहहरूले अहिले ‘एक घरः एक बाँदर’ भन्ने अभियानलाई प्राथमिकता दिइरहेका छन् । यो कुरा पनि लहडबाजी शिवाय केही पनि होइन । यसबाट पनि बाँदर समस्याको दीर्घकालीन समाधान निस्किँदैन । ‘एक घरः एक उद्यम’ चलाउनुपर्ने ठाउँमा दुःखका साथ भन्नुपर्छ हामी ‘एक घरः बाँदर‘ चलाउन अभिशप्त छौं । फेरि यो ‘एक घर एक बाँदर’ अभियान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को भावना विपरित हुने देखिन्छ । वन जङ्गलमा फौजमा रमाउने बाँदर घरमा एक्लै बनाएर पाल्दा त्यसको हालत के होला ? त्यो कति प्राकृतिक कुरा होला ? यतातर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ
बन्ध्याकरण गर्ने कुरा एकातिर व्यावहारिक रूपमा पनि त्यति सम्भव देखिँदैन भने अर्कोतिर यसबाट बाँदरको सङ्ख्या घट्दा त्यसले वातावरणीय चक्रमा समेत गम्भीर प्रभाव पार्न सक्छ । मानिसको बन्ध्याकरणका लागि त विदेशी गुहार्नुपर्ने देशमा बाँदरको बन्ध्याकरण कति सम्भव कुरा होला ? काठमाडौं पोखरा लगायत विभिन्न ठाउँमा छाडा कुकुरको समस्या समाधान गर्न बन्ध्याकरण अभियान चलाइए तापनि ती अभियान सार्थक हुन नसकेको सरोकारवालाहरूको अनुभवलाई पनि बिर्सनु हुँदैन ।