मेरो देश
०७ असोज २०७९
सगरमाथा र कुनैबेला विरताको गाथाले
चिनिने मेरो देश
सीता, भृकुटी,जनक र बुद्धका उपदेश
अनि नेपाली टोपीले
नाम कमाएको देश
पृथ्वी र अनुयायीले
एकिकरण गरेको देश
विदेशीका सामु झुक्न नजानेको मेरो देश ।
तर आज कता हो कता ?
विश्व मानचित्रमा नै हराउँछ कि जस्तो,
स्वाभिमान गिराएको,
नेता नीति विहीन भएर पनि नेता भइरहने मेरो देश
जनता रोइरहँदा पनि नेताहरु
‘पर्छ र त्यो पर्दैन’ मा जिस्किरहने देश।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको रटान गर्ने
तर
राम्रा खोस्ने र आफ्ना पोस्ने मेरो देश ।
युवाहरुलाई विदेशी भर्तीकेन्द्रमा धकेल्ने,
युवतीहरुलाई खाडीमा भाँडा माझ्न पठाउने
अनि रेमिटान्सको हिसाबमा मख्ख पर्ने देश
कठैबरा, उद्योग कलकारखाना बेचेर
विदेशी सामानको करमा रमाउने देश
र पनि
कर्मचारीलाई तलब खुवाउन नसक्ने देश
शिक्षा र शिक्षकलाई उपेक्षा गरेको मेरो देश
औषधिमा कमिसन,घरजग्गा किनवेचमा कमिसन
किसानले मल किन्दा कमिसन,
जागिरमा कमिसन,
विदेश पठाउँदा कमिसन
विद्यालय अस्पताल विगार्दा पनि कमिसन
यता पनि कमिसन उता पनि कमिसन
जताततै कमिसन नै कमिसन,
तै पनि
मलाइ मेरो देश
मेरो देश नै भन्न मन लाग्छ
किनभने
देश भनेको देश हो
माटो सम्म जोगाउन सके पनि
जनता जागे भने
इतिहासकै जस्ता विरहरु
र धेरै वालेनहरु जन्मने छन
बालेनहरु देशका खम्बाहरु हुन सक्छ्न्
उनिहरु कुटा कोदाला
अनि धारिला हतियारहरु हुन।
दलीका आडमा टिकेको भ्रष्ट शासन पद्दति को
पुरानो र बुढो रूख
ढाल्ने छन।
त्यसैले,
अझैपनि मेरो देशको विरताको गाथा सम्झन मन लाग्छ
हृदयका पाना भरि सजाउन मन लाग्छ,
दुर तर सुन्दर भविष्यको आशमा भएपनि
बाँच्न मन लाग्छ ।