९९ चोक बयरघारीका व्यापारी समूहले शुरू गरे अनिवार्य मास्क अभियान।

बैशाख १९, २०७८


वैशाख १८, भीरकोट खबर डेस्क

कोरोना भाइरस (कोभिड-१९) का कारण जनजीवन फेरि नराम्रो संग प्रभावित बनेको छ । पछिल्लो समय दिन दुईगुना रात चौगुना भने झै दिनप्रतिदिन कोभिड-१९ ब्यापक रुपमा बढ्दै गएपछि सचेत रहन र नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न, अनिवार्य माक्स लगाउन सरकारले अनुरोध समेत गरेको छ । सरकारले यतिका अनुरोध गर्दागर्दै पनि नागरिकहरु स्वास्थ्य मापदण्ड अपनाउन त परै जाहोस माक्स सम्म नलगाई हिड्न थालेपछि भीरकोट नगरपालिका १ राधाकृष्ण टोल ९९ चोकका व्यापारी समूहले निशुल्क रुपमा मास्क वितरण अभियान सुरू गरेका छन्।

९९ चोकबाट सुरु गरिएको यो अभियान विस्तारित रुपमा अन्य बजार क्षेत्रमा पनि संचालन गरिने बताइएको छ। कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले कोभिड-१९ को संक्रमणको गति दिनानुदिन बढ्दै गइरहेको यस अवस्थामा जनस्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्दै मास्क, सेनिटाइजर वितरण गर्ने कार्यको सुरुवात गरेकोमा टोल निवासी सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो र स्वास्थ्य सम्बन्धी केही समस्या आएमा नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा गई स्वास्थ्य लाभ लिन तथा अन्य केही समस्या परेमा सम्बन्धित पदाधिकारीहरुलाई तत्काल खबर गर्न समेत अनुरोध गर्नुभएको थियो।

प्रमुख खनालले बढ्दो संक्रमणको न्यूनीकरण तथा रोग लुकाएर बस्ने बानीको निराकरणका लागि राधा कृष्ण टोलका घर-घरमा गई ज्वरो तथा सामान्य स्वास्थ्य जाँचका साथै contact tracing को आधारमा स्वाब परिक्षणका लागि टोल समूहका पदाधिकारी, स्वस्थ्य स्वयंसेविका, स्वास्थ्य कर्मीहरु लगायतलाई निर्देशन दिनुभयो। आयोजक व्यापारी समूहले यस्तै अभियान अन्य टोल, बजार हुँदै देशब्यापी रुपमा गर्नका लागि सबैलाई अनुरोध पनि गरेका छन। कार्यक्रम अबधिमा पैदल यात्री, सवारी चालक, सहचालक, यात्रु लगायत अन्य सर्वसाधारणहरुलाई मास्क वितरण गरिएको थियो। निशुल्क मास्क वितरण अभियानलाई निरन्तरता दिने आयोजकले जानकारी दिए । कार्यक्रममा भीरकोट उद्योग वाणिज्य संघका प्रतिनिधि, भीरकोट नगरपालिकाका कर्मचारी, स्थानीय बजारका प्रतिनिधि आदिको उपस्थिति रहेको थियो।

माक्स वितरण कार्यक्रमको संचालन टोल प्रसाद रेग्मीले गर्नुभएको थियो भने सम्पूर्ण उपस्थित व्यतित्व तथा सहयोगीहरुलाई धन्यवाद राधाकृष्ण टोल विकास समितिका अध्यक्ष ढाकाराम खनालले गर्नुभएको थियो।