मैसाबको नाउँमा

फागुन ०२, २०७८


फागुन ०२, २०७८

तिमी पूर्वबाट आएकी आँधी
थियौ त्यसै बखतमा
पश्चिम्बाटै हुत्तिँदै हिँडेथिएँ
कि सायद, एउटा मेघ
त्यहीँनेर गर्जेको थियो।
ठोक्किएर जानेहरू प्राय
टुक्रिएर जान्छन् भन्थे भन्नेले,
सबै टक्राब टुक्रिन थिएन,
हाम्रा नजर ठोक्किएपछि
हामी जोडियौँ। र एउटा
प्रेमको बिज त्यहीँबाट उम्रन सुरु भयो,

यस्तो भिरालो ठाउँमा
उम्रीएछ कि हाम्रो प्रेम
जुनकुनै बेला भत्किजान
सक्थ्यो माथीबाट
आउने खबरदारीका पहिरोले
जुनसुकै बेला ओइलाइजान
सक्थ्यो डढेलोमा परेर
विभेदका झिल्काहरूले,
जतिसुकै बेला चुटिएर
सकिन्थ्यौँ होला
असिनाहरूले चुटेर,
हामी त बञ्जर जमिनमा
उम्रीएका पालुवा न थियौँ।

मैसाब! म भाग्यमा बिश्वास नगर्ने मान्छे,
भाग्यकै कुरा गर्ने हो भने
मैले त समाउने हाँगो भाँचिएर जान्छ,
टेक्ने जमिन भास्सिएर जान्छ,
समाउन खोज्यो फुत्किएर जान्छ,
पत्याउ नपत्याउ मैले छाता बिर्सिएकै
दिन झमझम पानी पर्ने गर्छ,
मैले कपि बिर्सिएकै दिन सरले धेरै लेखाउनुहुन्छ,
भाग्यका कुरा नै गर्ने भए
मैले पढ्न बाँकि रहेकै
पाठबाट प्रश्नहरू आइदिन्छ परीक्षामा,
हुन त भाग्य त आफ्नो कर्मको प्रतिफल न हो
म त कर्ममा विश्वास  गर्ने मान्छे र तिमी पनि ।

मैसाब! पारिजातले भन्नुभएछ एउटा पुस्तकमा
“मान्छे भएपछि रुख कहिले बढ्छ र
फल खाउँला भन्दै कुरेर बस्नु हुँदैन,
मान्छेले त झन मलजल गरेर छिटो
फलाउने प्रयास गर्नुपर्छ” कसैले भाग्यको कुरा गर्दा
मलाई यहि लाइन याद आउँछ।

मैसाब! हामीलाई प्रेमको परिभाषा थाहा थिएन रहेछ,
परिभाषा नै नजानी नजानी हामीले
केही त गरेका रहेछौँ त्यही नै प्रेम रहेछ,
प्रणय यात्रामा निस्कँदा
हामीले आँखा चिम्लेर हिँडेथियौँ
त्यसैले देखेनौँ कुनै बन्दन,
देखेनौँ कुनै आकर्षण, हैसियत देखेनौँ,
ब्यवस्था देखेनौँ, जात देखेनौँ
यसरी एक अर्कालाई मात्र देखिरहेका थियौँ



नत्र त खबरदारीका औंलाहरुले
तर्साइरहन्थ्यो होला तिम्रो स्पर्श पनि,
हरेकपटक खडिन्थे होला हामी बिचको
पर्खाल गन्तव्यमा पुग्दानपुग्दै आइदिन्थ्यो होला
चेकपोस्टहरू जहाँ गिरफ्तारीमा पर्थ्यो होला
हाम्रो धरातल अनि स्मृतिमै अल्झिन्थ्यो होला
प्रणयको यात्रा त्यसपछि त साथी छुटेको कमिला जस्तो,
आकाश को एक टुक्रा बादल जस्तो,
मरुभुमिमा परेको पानी जस्तो,
म हराउँथे होला कहिँ अलपत्र एकदम
अलपत्र राज्य गुमाएको कुनै राजकुमारझैँ
अलपत्र हुन्थेँ होला हृदयमा राज गर्दागर्दै।
तिम्रो मुस्कानमा अल्झिरहेको म
ओठका कविताहरु लेख्दा लेख्दै
आँखाका डिलहरु भत्किन्थेहोला,
तलाउमा डुब्न लागेको कुनै
मानिसझैँ सायद निसास्सिनु पर्थ्यो होला
प्रेमको अभावमा त्यसपछी ।

मैसाब! आउन त आएथ्यो
दुस्मनहरुको ठुलै आँधिबेहेरि तर हाम्रो
आत्मविश्वासको लठ्ठा बलियो थियो
र त चुँडिएन सम्बन्धको पुल।
तिमीले आफ्नो प्रेमको अहम
शिरमा नसजाएको भए यहीँ अनकन्टार
भिरमा फुलिरहेको बेला कसै न कसैको
नजर पर्थ्यो होला तिमीलाई लिएर जान्थ्यो
होला गमलामा सजाएर म तिम्रो डोभ
हेर्दै कतिन्जेल पो सक्थेँ र ?
तिमी गएपछी त माटो समाइरहेको
जराको एक पाखोको उप्किएपछी
सानो पहिरो नै काफी हुन्थ्यो होला
मलाई लडाउन। त्यसपछि लाग्थ्यो होला
मलाई ठोक्किनु आखिर टुक्रिनु हो रहेछ
कुनै दिन नजर ठोकिनु र कुनैदिन हामी टुक्रिनु,
धन्न हाम्रो हृदयमा थियो प्रेमको इश्वर
त्यसैले त एउटा युद्ध जित्यौँ।