कहिले आउँछ स्थानीय पाठ्यपुस्तक “हाम्रो भीरकोट” ?
नारायण प्रसाद कोइराला, स्याङ्जा
२६ जेठ २०७९
स्याङ्जा जिल्लाको बालमैत्री नगरपालिका भीरकोटले तयार गरी लागू गरेको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक “हाम्रो भीरकोट” को दोस्रो परिमार्जित संस्करण अझैसम्म पनि विद्यार्थीहरूले पढ्न पाएका छैनन् । पाठ्यक्रम विकास केन्द्र र निजी प्रकाशकहरूका किताब विद्यार्थीहरूका हातहातमा आइपुगीसक्दा पनि स्थानीय सरकारले प्रकाशन गर्ने पाठ्यपुस्तकको भने अत्तोपत्तो छैन ।
“हाम्रो भीरकोट” पाठ्यपुस्तक कहिले आउँछ भनी नगर प्रशासनमा सम्पर्क गर्दा प्रशासकीय अधिकृत खुमलाल भूसालले भीरकोटको इतिहास समेटिएका विभिन्न कक्षाका पाठमा समस्या देखिएकाले पाठ्यपुस्तक परिमार्जन गर्नुपर्ने भएकाले समयमा उपलब्ध गराउन नसकिएको बताउनुभयो । प्रशासकीय अधिकृत भूसालले परिमार्जनको जिम्मा पहिलो संस्करणको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखनमा सहजीकरण गरेको संस्था साभ नेपाललाई दिइएको जानकारी दिनुभयो । उहाँले थप जानकारीका लागि शिक्षा शाखा सम्पर्क गर्न अनुरोध गर्नुभयो । त्यसपछि हामीले यही विषयमा नगर शिक्षा शाखामा पनि सम्पर्क गरेका थियौं।
“हाम्रो भीरकोट” को परिमार्जित संस्करण कहिले आउँछ ?” भन्ने हाम्रो प्रश्नमा शिक्षा शाखाका अधिकृत नवीन थापाले असार पहिलो हप्ता सम्म पाठ्यपुस्तक आइपुग्ने बताउनुभयो । “नयाँ शैक्षिकसत्र सुरू भएको एकमहिना हुन लाग्दा पनि किन ढिलाइ भयो?” भनी प्रश्न गर्दा उहाँले भन्नुभयो, “कक्षा ६ र ३ को पाठ्यपुस्तकको भीरकोटको इतिहास सम्बन्धि पाठ्यवस्तु परिमार्जन गर्नुपर्ने भएकाले ढिलाइ भएको हो । हामीले चुनाव अघिनै लेखकलाई परिमार्जन गर्न भनेका हौं तर समयमा लेखकले काम नगर्दा ढिलाइ भएको हो ।” पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखनमा सहजीकरण गरेको संस्था साभ नेपालका अध्यक्ष डा. तुलसीराम खनाललाई यश विषयमा सम्पर्क गर्दा नगरपालिकाले पाठ्यपुस्तक परिमार्जन गर्नका लागि आधिकारिक रूपमा कुनै जिम्मेवारी नदिएकाले दोस्रो संस्करणको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कक्षा ६ र ३ को भीरकोटको इतिहास सम्बन्धि पाठ्यवस्तुमा इतिहासकार र स्थानीयको भनाई बाझिएको साँचो हो । यो समस्या समाधानका लागि नवनिर्वाचित जनप्रतिनिधि र नगर प्रशासनलाई समेत ध्यानाकर्षण गराएको थिएँ । तर उहाँहरूले इतिहासकार र स्थानीयहरूबिच साक्षात्कार गर्न गराउन कुनै पहल गर्नुभएको छैन ।”
गत वर्ष भीरकोट नगरपालिकाले स्थानीय तहभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका आधारभूत तहका विद्यार्थीहरूलाई “हाम्रो भीरकोट” पाठ्यपुस्तक निशुल्क वितरण गरेको थियो।यस वर्ष पनि निशुल्क प्रदान गरिने शिक्षा शाखाले जनाएको छ। तर प्रकाशन र वितरणको जिम्मा लिएको नगरपालिका र लेखन, परिमार्जनको जिम्मा दिइएको भनिएको साभ नेपाल बिचको असमझदारीले सबै पाठ्यपुस्तक ठ्याक्कै कहिले आउँछ भन्न सकिने अवस्था छैन।जतिसक्यो चाँडो विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नवनिर्वाचित स्थानीय सरकार र नगर प्रशासनले सरोकारवालाबिचमा रहेको असमझदारी यथासक्य चाँडो अन्त्य गर्नु आवश्यक छ।