नेपाली काङ्ग्रेस भीरकोट नगर सभापतिमा अधिकारी विजयी

असोज ०९, २०७८


आश्विन ०९, भीरकोट खबर डेस्क

नेपाली काङ्ग्रेस भीरकोट नगर सभापतिको निर्वाचनमा वडा नं ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)विजयी हुनुभएको छ ।उहाँले वडा नं १ का अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र के.सी. सँग चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो । २०४ जना क्षेत्रीय प्रतिनिधि रहेको भीरकोट नगरपालिकामा अधिकारीले १०० मत प्राप्त गर्दै विजयी हुनुभएको हो।उहाँका प्रतिद्वन्दी के.सी. ले ९९मत प्राप्त गरि उपविजेतामा चित्त बुझाउनु भएको छ । के.सी.ले तेह्रौं महाधिवेशनमा पनि निवर्तमान नगर सभापति तोयनाथ अर्यालसँग चुनावी प्रतिस्पर्धा गर्दा उपविजेता मै चित्त बुझाउनु परेको थियो।

सानै उमेर देखि नै नेपाली काङ्ग्रेस प्रती आस्थावान अधिकारीले २०६० साल देखि नेपाली काङ्ग्रेसको सक्रिय राजनीति सुरू गर्नुभएको थियो। फर्निचर व्यवसायी समेत रहेका अधिकारीले +२ सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको छ। नेपाली काङ्ग्रेस जिताउ अभियान र सबै प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सक्रिय सहभागीता रहेको दाबी गर्ने अधिकारी वालिङमा फर्निचर व्यवसाय गर्ने क्रममा वालिङ् उद्योग वाणिज्य संघ र वालिङ जेसिजमा सक्रिय हुनुहुन्थ्यो ।अधिकारी वालिङ जेसिज वर्ष २०१८ को अध्यक्ष र क्षेत्रीय निर्देशक पनि बन्नुभएको थियो। उहाँ जिल्ला फर्निचर व्यवसायी संघ स्याङ्जाका संस्थापक अध्यक्ष र फर्निचर व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य समेत बन्नुभएको थियो।



यसरी विभिन्न सामाजिक र व्यवसायिक संघसंस्थामा जिम्मेवार पदमा रहेर काम गर्नुभएका अधिकारी युवा पङ्तिमाझ एकदमै लोकप्रिय हुनुहुन्छ।कोभिड-१९ महामारीको बेलामा भीरकोट जेसिजसँग सहकार्य गर्दै विपद् मा हामी अभियानमा आफ्नै सवारी साधन प्रयोग गरी ५०० भन्दा कोभिड संक्रमित र अन्य बिरामीहरूलाई पनि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरेर लोकप्रिय बन्नुभएका अधिकारी आफ्नो वडाको विकासमा पनि सक्रिय भएर लागि पर्नुभएको छ। विपद् र अप्ठ्यारोमा जनप्रतिनिधिहरू जनता माझ रहनुपर्छ र निस्वार्थ भावले सेवा गर्नुपर्छ भन्ने जनमैत्री सोच भएका उहाँ पार्टी संगठन विस्तारमा पनि सक्रिय हुनुहुन्छ।

नेपाली काङ्ग्रेस स्याङ्जाका आदर्श राजनीतिज्ञ स्व.कमल पंगेनी आर्दश र उदारतालाई पछ्याएको दाबी गर्ने अधिकारीले नगर पार्टी कार्यालय भवन निर्माण, कमल पंगेनी स्मृति पार्क निर्माण, भीरकोट कांग्रेस एकेडेमी गठन, पार्टी सुदृढीकरण र भीरकोटका अग्रज राजनीतिज्ञको सम्मान सम्मका कार्यक्रमहरू अगाडि सार्नुभएको छ। यसैगरी उपसभापतिमा जगदीश प्रसाद कोइराला, विष्णुमाया काफ्ले, सचिवमा तारा अर्याल र नन्दलाल खनाल, सहसचिवमा प्रशुन मगर र सुशील खाँड विजयी भएका छ्न् ।