लाचार पर्खाइ

फागुन २५, २०८०


२०८० फागुन २५, शुक्रबार

भनिन्छ नि- जताइएको प्रेमभन्दा लेखिएको प्रेम सुन्दर हुने गर्छ । तर त्यस्तो सुन्दरता केवल यस्तै लेखमा सीमित हुन्छ क्यारे । त्यसको वास्तविकता खोतल्न डराइएको हो वा मनको सन्तुष्टिका लागि खोतल्न नचाहिएको हो, त्यो म जान्दिनँ तर मात्र के स्मरण छ भने मलाई जताइएर पनि नबुझिएको प्रेमले दिएको त्यो चोट, लेखिएर पनि नदेखिएको प्रेमको गहिरो घाउ, रगतले लतपतिए झैं उसका यादले कहिल्यै मनमष्तिष्कबाट नहट्ने गरी छापिदिएको प्रेमको दर्दनाक दाग, कुनै स्वार्थ वा आशबिना नै गरिएको त्यो लाचार पर्खाइको मर्म ।

प्रेमको पनि त एउटा धर्म हुन्छ, प्रेम गरिसकेपछि दुवैलाई त्यसको महसुस हुनुपर्छ तर त्यसको महसुस मलाई कहिल्यै भएन र सायद उसलाई पनि त्यो आभाष गराउन असक्षम भएँ होला म । त्यसैले त मेरो तर्फबाट गरिएका लाखौँ प्रयास उसका जीवनमा फिक्का भए । सायद हामी दुवैको प्रेमको परिभाषा नै फरक थियो होला । हामी निश्चय नै फरक थियौं तर विश्वस्त थिएँ म हाम्रो भेट प्रेमको धागोले साझा बिन्दुमा ल्याई गराउँछ तर त्यो विश्वासलाई मेरो हृदयजस्तै टुक्रिएर जोड्न नमिल्ने हजारौं भागहरुमा परिणत हुन पनि खासै बेर लागेन । रगत नबगे पनि सदा दुखिरहने घाउ सहेको सहासी हृदयलाई पनि सलाम छ तोडिएर हजारौं टुक्राहरु बनेको विश्वासले दिएको चोट समालिदिएकोमा, जोडिनभन्दा पहिल्यै छुटिएको सम्बन्धको वियोगान्त कथा गुम्साएर राखिदिएकोमा र यति हुँदा पनि मेरो सानेप्रतिको त्यो प्रेमलाई मर्न नदिएकोमा ।

भित्रभित्रै उब्जिएका प्रश्नहरुको चक्रव्यूहमा अल्झिएको मनलाई यसबाट निकाल्न गरिएका लाखौं असफल प्रयत्नहरु पनि अहिले त मेरो हालत देखी खित्का छाड्दै हाँस्दै होलान् तर जीवन आफैमा एउटा प्रश्न चिन्ह न हो, एउटा जटिल प्रश्न चिन्ह जसको उत्तर खोज्न लाखौँ प्रयत्न गरिएपनि निष्कर्ष एउटै मात्र निस्कन्छ- जीवन एउटा गम्भीर प्रश्न चिन्ह हो ।

अहिले पनि याद छ मलाई-पूर्णिमाको रातमा पनि मेरो हृदय औंसीको रातजस्तो अँध्यारो भएको त्यो क्षण । आज सुनाउँछु एउटा कथा-ऊ पात्रको ऊ अर्थात् मेरो साने । वर्षौँ पहिलेको मेरो इतिहासको पाना पल्टाउने आँट गरेकी छु । म र मेरो साने सँगै हुर्किएका सहपाठी थियौं । गोरो छालामा चिम्सा आँखा, लाम्चो मुखाकृति भएको सानेलाई आफ्ना नयनले स्पर्श गर्न नपाएको पनि वर्षौँ भएछ । उसलाई धित नमरुन्जेल हेर्नका लागि तड्पिएका छन् यी आँखाहरु तर साँच्चिकै भन्नुपर्दा यी पापी आँखाहरु यसैका लायक छन् । यी आँखाहरुबाट नै शुरु भएको थियो हाम्रो प्रेमगाथा । मेरो साने र म समानान्तर रेखाजस्तै थियाँ एउटै लयमा अगाडि बढिरहने तर कुनै साझा बिन्दु नै नभएका । ऊ र म बिल्कुलै फरक थियौं। म दन्त्यकथाका राजकुमारीहरुको प्रेमकथामा रमाउँथें, ऊ जीवनको यथार्थमा प्रेमलाई खोज्ने यत्न गर्थ्यो । विपरीत ध्रुवले एक अर्कालाई आकर्षित गर्छ भनेको हो रहेछ तर यस आकर्षणलाई प्रेमको नाम दिनु नै मेरो सबैभन्दा ठूलो भूल थियो ।

म भावना व्यक्त गर्न असक्षम थिएँ भने ऊ व्यक्त नगरेका भावना पनि बुझ्न सक्ने सामर्थ्य राख्थ्यो । ऊप्रतिका म आफैले केलाउन नसकेका र मुटुभित्र अल्झिएका भावनाहरुलाई पनि कति सजिलै उसले बुझ्यो । मलाई घृणा छ, मौन रहेर नै सबै कुरा बताइदिने यी मेरा आँखाहरुप्रति । तर उसले मेरो भावना नबुझेकै भए हुनेरहेछ। वियोगको यो चोटभन्दा त त्यो उल्झन नै बेस थियो मलाई । यति हुँदाहुँदै पनि हामीमा जे थियो, त्यैसैलाई नै प्रेमको नाम दिँदै हामी अगाडि बढिरह्यों, भविष्यसँग अपरिचितै रहेर ।

समयसँगै अगाडि बढ्‌दै गर्यो हामी, अब त प्रेमले पनि विवाहको निष्कर्ष पाउला भन्ने मेरो मनमा जागेको आशा उसले बुझ्नु अगाडि नै उसको भिसा लाग्यो । ऊ अब विदेशिने भयो । खुसीको खबर भन्नु छ भन्दै पूर्णिमाको रातमा वरको रुखमुनि भेट्न बोलाउँदा दिवास्वप्नमा डुवेकी म ऊ विदेशिने कुरा थाहा पाएपछि अमिलोबिनाको अचारजस्तै भएँ । ऊ उड्ने दिन आयो, आफू छिटै फर्कने वाचा गर्दै मलाई पर्खने आदेशका रुपमा दिएको मायाको चिनो एउटा पछ्यौरी अझै ओढिरहेकी छु । त्यो दिन भर्दै नभरेको सिउँदो पनि पुछिएजस्तो महसुस भएको थियो । ऊ फर्कने आशामा पर्खाइको डोरीलाई बलियो बनाउँदै जानेबाहेक अरु कुनै विकल्प थिएन मसँग । विदेश पुगेपछि ऊ बदलिएछ, मलाई के थाहा तर पनि मेरो पर्खाइमा पूर्णविराम लाग्न भने मैले दिइन।

एक दिन अचानक चक्रपथको बसपार्कमा देखें सानेलाई । हृदय खुशी भयो तर त्यो खुसी एकैछिन पनि टिक्न सकेन । त्यो सानेमा मैले मेरो सानेको प्रतिविम्ब भेट्न सकिन वा भनौँ त्यो साने मेरो मायालु साने नै थिएन ।

दुई वर्षअघि मायाको चिनो पछ्यौरी दिएको सानेले अहिले त आफ्नै थर दिई सिन्दुर भने अर्कै खैरेनीको सिउँदोमा खसालेछ । उसले थामेका त्यो सुन्दर युवतीका हातअगाडि मेरा नजर झुके । उसमा आएको यस्तो परिवर्तनको सामु के गरोस् मेरो लाचार पर्खाइ, त्यो घुँडा टेक्न बाध्य भयो । उसलाई बोलाउने आँटै आएन तर पनि टाढैबाट उनीहरु बस नचढुन्जेल उसलाई नियालिरहें । म उसका लागि जीवनको बिन्दुमा भेटिएको एक अनुभवमात्र थिएँ होला तर ऊ मेरो जीवनको पर्याय नै थियो । उसलाई पनि के दोष दिनु । न ऊ दोषी थियो न म नै । उसले आफू फर्कने वाचा पूरा गर्यो म मैले उसलाई पर्खने वाचा । त्यसपछि यी आँखाले उसको मुखाकृति प्रत्यक्ष देख्न पाएका छैनन् । ऊसँग बिताएको समयभन्दा पनि बढी समय उसलाई सम्झनु पर्ने नै त रहेछ नि विछोडको सार ।

उसका यादहरु पनि कति बलिया, भाँच्नै गाह्रो। सेतो कपडामा लागेको दागजस्तै मेटाउनै गाह्रो । उसका सम्झनाका रङ्गहरुले र‌ङ्गिएको मेरो मनको क्यानभासलाई पुछ्ने प्रयास गर्दै अब जीवनयात्रामा अगाडि बढ्ने निर्णय लिएँ । ऊबिना सकिँदैनथ्यो झैँ लाग्थ्यो, सकिएकै छ । ऊबिना बॉर्चिदैन झैँ लाग्थ्यो, बाँचिएकै छ। आखिर यही नै रहेछ जीवनको निष्कर्ष- बितेका कुरालाई बिस्तारै मेट्दै निरन्तर बगिरहनुपर्ने ।

वर्षौँ पहिले बन्द गरेको मेरा इतिहासका पानाहरुलाई फेरि खोतल्दै छु । तिमी कहाँ छौं थाहा छैन तर ए, सुन न- आज मैले मेरो एघार दिनको छोराको नाम साने राखेकी छु । जीवनको एउटा अभिनव पाटोको शुरुवात गरेकी छु ।

यो सानेले तिमीले मजस्ता जुनेलीको जीवनमा छाडेको छाप वा भनौँ दाग अर्की जुनेलीमा छाइने छैन। वाचा छ, म मेरो छोरो सानेलाई मेरो मस्तिष्कमा तिम्रो नाममाथि लागेको कालो धब्बा मेटाउन सक्ने बनाउने छु । वाचा छ, मेरो सानेले कुनै पनि जुनलीको आँखाबाट आँसु झर्न दिने छैन, उसको प्रेमप्रतिको आशा मर्न दिने छैन। मेरो पर्खाइ लाचार भए पनि चिन्ता नगर, तिमीप्रति मेरो कुनै गुनासो भने छैन ।

निलिमा रेग्मी अमरसिंह माध्यमिक विद्यालय, पोखरामा कक्षा १० मा अध्ययनरत छन्)