भीरकोट कोभिड-१९ विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

जेठ १५, २०७९


नारायण प्रसाद कोइराला, स्याङ्जा
१५ जेठ २०७९

स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटलाई कोभिड-१९ विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। आज नगरपालिकामा आयोजित एक औपचारिक समारोहकाबीच पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो। यो घोषणा संँगै भीरकोट नगरपालिका स्याङ्जा जिल्लाको दोस्रो कोभिड-१९ विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका बनेको छ। स्याङ्गजाको पुतलीबजार नगरपालिका कोभिड-१९ विरूद्धको पूर्ण खोप सुनिश्चित भएको पहिलो नगरपालिका हो।

प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको घोषणा कार्यक्रममा वर्तमान र निवर्तमान जनप्रतिनिधिहरू, जिल्ला स्वास्थ्य कार्यालका प्रमुख वसुन्धरा शर्मा, नगरपालिकाका कर्मचारीहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, सुरक्षाकर्मी र पत्रकारहरूको सहभागीता रहेको थियो।

कोभिड-१९ विरूद्धको पूर्ण खोप सुनिश्चित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसालले कोभिड-१९ नियन्त्रणमा भीरकोट नगरपालिका र सरोकारवाला संघसंस्थाहरूले खेलेको भुमिका र सफलताको चर्चा गर्नुभएको थियो। प्रशासकीय अधिकृत भूसालले कोभिड-१९ महामारीको समयमा नगरपालिकाले स्वास्थ्य सचेतना कार्यक्रम, क्वारेन्टाइनको व्यवस्थापन, तत्कालीन कालिका सामुदायिक अस्पतालमा आइसोलेसन कक्षको व्यवस्थापन , हप्तामा २ दिन निशुल्क पिसिआर र हप्तामा सातै दिन एन्टीजिन परीक्षण, राष्ट्रिय आविष्कार केन्द्रसँगको लागत साझेदारीमा मिनि अक्सिजन प्लान्ट स्थापना लगायतका विविध कार्यक्रम गरेर कोभिड-१९ नियन्त्रणको प्रयास गरेको उल्लेख गर्नुभएको थियो। यसैगरी उहाँले भीरकोट जेसिज, नेपाली काँग्रेसका भीरकोट नगर सभापती याम प्रसाद अधिकारी, युएनडिपी, दियालो, सुआहारा लगायतका संघसंस्था र व्यक्तिहरूहरूले कोभिड-१९ महामारी नियन्त्रण गर्न र महामारीको समयमा मानवीय सेवा प्रदान गरी पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरिएको बताउनुभएको थियो।



भीरकोटमा १२ वर्ष माथिका लक्षित जनसंख्या १६,९९३ जना मध्ये १६,२९३ जनाले कोभिड-१९ विरूद्धको खोप लगाएका छ्न्। जुन लक्षित जनसंख्याको ९५.८८ प्रतिशत हुन आउँछ। लक्षित उमेर समुहका ९० प्रतिशत जनसंख्याले कोभिड-१९ विरूद्धको खोप लगाएपछि स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्न सकिने व्यवस्था छ। कार्यक्रममा कोभिडको कारण २०७६ चैत्र ११ भएको पहिलो लकडाउन देखि आजका मितिसम्म कोभिड नियन्त्रणमा भीरकोट नगरपालिका, सरोकारवाला संघ संस्था र व्यक्तिहरूले खेलेको भूमिका र सफलताको समीक्षा गरिएको थियो। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धरा शर्माले भीरकोट नगरपालिका समग्र स्वास्थ्य सूचकका आधारमा हेर्दा गण्डकी प्रदेशका ८५ वटा स्थानीय तह मध्ये बाह्रौं स्थानमा रहेको जानकारी दिनुभएको थियो।

फेदीखोला गाउँपालिका बाहेक स्याङ्जा जिल्लाका १० वटै पालिका र पर्वत जिल्लाका कोभिड संक्रमित बिरामीहरूलाई क्वारेन्टाइनमा राखिएको, खानपान र औषधोपचारको व्यवस्थापन गरिएको स्मरण गर्दै निवर्तमान नगर प्रमुख छायाराम खनालले कोभिड नियन्त्रण एवं खोपको सुनिश्चितता लागि सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र संघसंस्थाका प्रतिनिधिहरूलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्नुभएको थियो। भीरकोट नगरपालिकाका पहिलो नगर प्रमुख समेत बन्नुभएका खनालले कोभिड महामारीको कारणले आफ्नो कार्यकाल एकदमै चुनौतीपूर्ण बनेको समेत स्मरण गर्नुभएको थियो। निवर्तमान नगर प्रमुख खनालले गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले भीरकोट नगरपालिकालाई कोभिड महामारीको समयमा प्रदेश सरकारको तर्फबाट विशेष आर्थिक सहयोग गरेर पालिकालाई ऋण लाग्नबाट बचाएको, पालिकाको नियमित बजेट प्रभावित हुनबाट जोगाएको समेत जानकारी दिनुभएको थियो। खनालले कोभिड महामारीको समयमा एम्बुलेन्स चालक बनेर अहोरात्र खटिएर नगरपालिका र जनतालाई मानवीय सेवा प्रदान गरेकोमा भीरकोट नगरपालिका वडा नं ५ निवासी विनोद कुवँरको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी एवं गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठ र नवनिर्वाचित नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले भीरकोटलाई पूर्ण खोप सुनिश्चित नगरपालिका बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, संघसंस्थाका प्रतिनिधी, सुरक्षाकर्मी सबैलाई धन्यवाद एवं आभार व्यक्त गर्नुभएको थियो। उहाँहरूले अहिले स्वास्थ्य सेवा र भौतिक विकासको क्षेत्रमा नगरपालिकालाई उत्कृष्ट बनाउन सबै मिलेर लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त घोषणा कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। स्वास्थ्य शाखा प्रमुख नारायण बन्धु अर्यालले संचालन गरेको घोषणा समारोहमा सुआहारा गण्डकी प्रदेश प्रमुख याम जिसी, वडा नं २ का निवर्तमान वडा अध्यक्ष कमल विकास त्रिपाठी, वडा नं १ का नवनिर्वाचित अध्यक्ष दिपेन्द्र के.सी., भीरकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नुवादत्त अर्याल, वडा नं ५ का निवर्तमान वडा अध्यक्ष एवं नेपाली काँग्रेस भीरकोट नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण), निवर्तमान नगर प्रमुख छायाराम खनालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।


कार्यक्रममा भीरकोटलाई पूर्ण खोप सुनिश्चित नगरपालिका बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, संघसंस्थाका प्रतिनिधी, सुरक्षाकर्मी सम्मान पत्र समेत प्रदान गरिएको थियो।