करूङमा गाउँ स्तरीय भलिबल रनिङ शिल्ड

पुष २१, २०८०


स्मार्ट संवाददाता,
२०८० पुस २१, शनिबार

भीरकोट नगरपालिका वडा नं १ मा गाउँ स्तरीय भलिबल रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ। करूङ बयरघारी मुस्लिम क्लबको आयोजनामा सुरू भएको प्रतियोगितामा २५ टिमको सहभागिता रहने रनिङ शिल्ड प्रतियोगिता संयोजक महमद शैयदले जानकारी दिए।

प्रथम करूङ रनिङ शिल्ड गाउँ स्तरीय पुरूष भलिबल प्रतियोगिताका खेल संयोजक जैनुल मियाका अनुसार प्रथम पुरस्कार ७२ हजार ७ सय ८६ रूपैयाँ रहेको छ। पुरस्कारको प्रायोजन भीरकोट नगरपालिकाले गरेको छ। द्वितीय पुरस्कार ५० हजार ७ सय ८६ रहेको छ भने यसको प्रायोजन करूङ बयरघारी मुस्लिम समाज, कतारले गरेको छ। तृतीय पुरस्कारको प्रायोजन हाल वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका सलमान अलि, समीर अलि, सलिम अलिले गरेका छन् जसको पुरस्कार राशी ३० हजार ७ सय ८६ रूपैयाँ रहेको छ। सान्त्वना पुरस्कारको राशी १५ हजार ७ सय ८६ रहेको छ । शान्त्वना पुरस्कारको प्रायोजन वैदेशिक रोजगारीको क्रममा जापानमा रहेका कुर्वान अलिले गरेका छन्।

प्रतियोगिताको समुद्घाटन भीरकोटका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले गरेका हुन्। समुद्घाटन समारोहमा क्लबका अध्यक्ष रमजान शेख, नेपाल मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष हजिल दिन मियाँ, स्याङ्जा जिल्ला मुस्लिम इतिहाद संगठनका अध्यक्ष नुरूल हक मियाँ, नेपाल मुस्लिम संघ गण्डकी प्रदेशका अध्यक्ष शाह महमद, बयरघारी करूङ मुस्लिम समाजका सल्लाहकार जब्बर अलि मियाँ, मुस्लिम संघ स्याङ्जाका सभापति अलि महमद (मुमु), वडा अध्यक्षहरू दिपेन्द्र के.सी., श्याम काजी अधिकारी, तारा अर्याल, नेकपा एमाले भीरकोट नगर कमिटी अध्यक्ष विश्वनाथ अर्याल लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो। एक हप्तासम्म संचालन हुने प्रतियोगितामा रोशन गुरूङले रेफ्रीको भूमिका निर्वाह गर्ने छ्न्।

बिज्ञापन


समुद्घाटन प्रतियोगितामा शुभकामना मन्तव्य राख्ने स्थानीय सरोकारका व्यक्तिहरूले नगर स्तरीय खेलकुद प्रतियोगिता संचालन हुनुपर्ने, खेलाडी उत्पादन गर्ने किसिमले खेलकुदलाई प्राथमिकता दिनुपर्ने, खेल पूर्वाधारहरू र भीरकोट खेलमैदानको व्यवस्थित विकास हुनुपर्ने भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए।

विज्ञापन