भीरकोटमा जेष्ठ नागरिक सम्मान अभियान

माघ १५, २०७८


स्मार्ट अखबार संवाददाता,
१५ माघ २०७८, भीरकोट

स्याङ्जाको बालमैत्री भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक सम्मान अभियान संचालन गरेको छ। अभियान अन्तर्गत नगर प्रमुख छायाराम खनाल, उपप्रमुख सिमा के. सी. कर्माचार्य र वडा अध्यक्षहरू सहितको टोलीले घरघरमै पुगेर जेष्ठ नागरिकहरूलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको छ। नगरपालिकाले पहिलो चरणमा नगरका सबै वडामा रहेका ७५ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिक र रातो कार्ड भएका अपांग नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका सूचना अधिकारी रामप्रसाद खनालले जानकारी दिनुभयो। सूचना अधिकारी खनालका अनुसार हाल सम्म करिब ४५० जनालाई न्यानो कपडा वितरण गरिसकिएको छ।

नगरपालिकाका करिब २ हजार १ सय जेष्ठ नागरिक र रातो कार्ड भएका अपांगहरूलाई न्यानो कपडा एवं फाइवर सिरक वितरण गरिने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ। पहिलो चरणमा लक्षित करिब ९५० जना जेष्ठ नागरिक र रातो कार्ड भएका अपांगहरूलाई फाइवर सिरक उपलब्ध गराउने र दोस्रो चरणमा ७० वर्षभन्दा माथिका करिब १ हजार २ सय जेष्ठ नागरिकलाई न्यानो कपडा उपलब्ध गराइने बताइएको छ।

जेष्ठ नागरिक सम्मान अभियानमा करिब २० लाख खर्च हुने अनुमान गरिएको छ। अभियानकै दौरान नगर प्रमुख खनालले जेष्ठ नागरिकहरूसँग भलाकुसारी समेत गर्नुभएको छ। नगरप्रमुख खनालले भन्नुभयो, “अनुभव र प्रेरणाका स्रोत जेष्ठ नागरिकको सम्मान सँगसँगै नगरका जेष्ठ नागरिक, विपन्न, अपांग र असाहयको वास्तविक वस्तुस्थिति थाह पाउन जेष्ठ नागरिक सम्मान अभियान संचालन गरिएको हो।” सम्बन्धित वडाका जनप्रतिनिधि र टोल संयोजकको सहयोगमा लक्षित घरपरिवार पहिचान गरि विशेष गरि विपन्न परिवारका जेष्ठ नागरिक र अपांगहरूलाई न्यानो कपडा वितरण गरिएको हो।वडाका जनप्रतिनिधिहरूले सक्रिय भूमिका नखेल्दा केही नागरिकहरू स्थानीय सरकारसँग जोडिन नसकेको हुँदा आफू स्वयं घरदैलोमा निस्केको नगरप्रमुख खनालले जानकारी दिनुभयो।