वालिङ जेसिजले ब्लड बैंक स्थापना गर्न पहल गर्ने

माघ १६, २०७९


स्मार्ट संवाददाता,वालिङ
१६ माघ २०७९

विज्ञापन

वालिङ जेसिजले स्मार्ट सिटी वालिङमा ब्लड बैंक स्थापना गर्न पहल गर्ने भएको छ।वालिङ जेसिजको  १९ औं पदस्थापन समारोहमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै वर्ष २०२३ का अध्यक्ष मणिप्रसाद अर्यालले सो कुरा बताएका हुन्। उनले भने, ” वालिङमा ब्लड बैंक नहुँदा उपचारका लागि पोखरा पाल्पा जानुपर्ने बाध्यता छ। यो समस्या समाधानका लागि वालिङ जेसिजले एक वर्षभित्रै ब्लड बैंक स्थापना गर्न पहल गर्नेछ।” उनले गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्याल र वालिङ नगरपालिकालाई समेत यो ब्लड बैंक स्थापना कार्यमा सहयोग एवं सहजीकरण गर्न आग्रह समेत गरेका थिए।पदस्थापन कार्यक्रममा शुभकामना व्यक्त गर्दै पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले ब्लड बैंक स्थापना कार्यमा पत्रकार महासंघ स्याङ्जाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले जेसिजका सबै सामाजिक अभियानमा सहयोग गर्ने वाचा गरेका थिए।

पदस्थापन समारोहमा वालिङ जेसिज वर्ष २०२२ का अध्यक्ष ध्रुव पंगेनीले वर्ष २०२३ का अध्यक्ष मणिप्रसाद अर्याललाई जेसिज चेन हस्तान्तरण गर्दै आफ्नो कार्यभार सुम्पिएका थिए। गण्डकी प्रदेश सभाका सदस्य भोजराज अर्यालको प्रमुख अतिथ्यतामा सम्पन्न भएका कार्यक्रममा वालिङ जेसिजका पूर्व अध्यक्षहरू, जनप्रतिनिधि, समाजसेवी उद्योगी, वालिङ स्थित सुरक्षा निकायका प्रमुखहरू, व्यवसायी, पत्रकारहरूको सहभागिता रहेको थियो।वालिङका युवाहरूको व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्न सन् २००४ मा लक्ष्मीप्रसाद रेग्मीको अगुवाइमा वालिङ जेसिजको स्थापना भएको थियो।