जात्रा

जेठ ०७, २०७९


२०७९ जेठ ७ गते शनिबार

एक्लै जन्मिनेहरु
मर्ने बेलामा
जान्छन्
जात्रा निकालेर ।

झोलाभरी किताब
किताबभरी भविष्य
खोज्नेहरु
स्कुलजस्ता कारखाना
कारखानाजस्ता स्कुलहरुमा
जान्छन्
जात्रा निकालेर ।

एक्लै बाँच्न नसक्नेहरु
अर्को कोहि एक्लो सँग
बाजा बजाएर
नाच्दै गाउँदै
जान्छन्
जात्रा निकालेर ।

बाध्यता नपुगेर जानेहरु
रहर नपुगेर फर्किनेहरु
विमानस्थलमा
जान्छन्
जात्रा निकालेर ।

जिन्दगी एक जात्रा
जात्रा अनेक जिन्दगीका
आज मैले फेरि अर्को जात्रा निकालेको छु ।
अबिर लगाएर , खादा लगाएर
आउ ,
म सँगै जन्म , म सँगै मर ;
भिर मेरो झोला ;
बजाउ बाजा , नाच गाउ ;
पुर्याउ आफ्नो रहर
बिर्स आफ्नो बाध्यता ।



काशीराम !
किन एक्लै बस्छस् ?
तैंले मलाई भोट हालेनस् र ?