अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरूलाई सम्मान

फागुन २६, २०८०


२६ फागुन २०८०, वालिङ

विपद् न्यूनीकरणका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा  स्याङ्जाको वालिङमा  महिलाहरुलाई सम्मान गरिएको छ । “समानताका लागि एकता” भन्ने मूल नारासहित ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वालिङ जेसीजले शुक्रबार  व्यवसायिक, राजनीतिक र सामाजिक जीवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका १९ जना  महिलाहरुलाई सम्मान  गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारी, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारी गैह्रे, शिक्षा शाखा अधिकृत गीता पाठक, अग्रज प्रेमकुमारी रेग्मी लगायतका महिलाहरु सम्मानित भएका हुन् ।

कार्यक्रममा सम्वोधन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले देशको सामाजिक र राजनीतिक  परिवर्तनमा महिलाहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखेकी थिइन्। सभ्य समाज निर्माणका लागि महिला र पुरूष दुबैले आफ्नो भूमिका बिर्सन नहुने बताउँदै उनले महिला अधिकारको सन्दर्भमा संविधानको व्यवहारिक कार्यन्वयनको आवश्यकता औल्याएकी थिइन्। नेपाली इतिहासमा समाज परिवर्तनका लागि अग्रज महिलाहरुको योगदानको कदर गर्दै अगाडि बढ्नुपर्ने उनको व्यक्त धारणा थियो।

यसैगरी वालिङ नगर उप प्रमुख कविता तिवारी गैह्रेले  महिलाहरुले आँफूमाथि हुने हिंसा खुलेर राख्नुपर्नेमा जोड दिएकी थिइन्। घरभित्र वा बाहिर हुने नारी हिंसालाई खुलेर विरोध  गर्नुपर्ने भन्दै उप प्रमुख  गैह्रेले आफ्नो  कर्तव्य र अधिकारसँगै  पालना गरेमा  हिंसामुक्त समाज निर्माण गर्न सकिने बताइन्।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले महिला सशक्तिकरण आजको आवश्यकता रहेको बताउँदै आरक्षण भन्दा शसक्तिकरणमा जोड दिनुपर्ने धारणा राखिन्।

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको सहयोगमा वालिङ जेसीजले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिलाहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको हो ।