“तिम्रो नाम फेरौं भो”

भदौ २४, २०८०


२३ भाद्र २०८०

हे तीज !
आउ आज तिम्रो नाम फेरौं भो
विगतलाई फर्केर एक पटक हेरौं भो
झुत्रा झाम्रा भए नी सबै जम्मा भई
चेलीबेटी सबलाई खुसी हुँदै लिन गई
आँटो पिठो सब घर मिली
खान्थ्यौं पिर ब्यथा व्यवधान लाई आँखा चिम्ली
पाँच बिसै पुग्नै लागेतापनि
चुलो बालेर बसाल्ने चीज केही नभएतापनि
ल्याउन सकिन्थ्यो तिमीलाई बेचेर पनि दिनको पसिना
चाहिन्थ्यो कसैले मिठो र मसिना ।

तर तीज,
तिमी आज परिवर्तन भइछौ
पसिना बेचेर खानेका घरबाट तिमी गइछौ
लाखौँका गरगहना लत्ताकपडामा रमाउने तिमी
सातै डाँडा भएतापनि हिँडाएर दाजु लिन पठाउँथ्यौ
त्यी एकान्त घना जंगल, जीवजन्तु सबैले
वर्षभरिका चेलीका व्यथा सुन्न पाउँथे
पिडाका क्षण सबै त्यही समयको पर्खाइमा टारिन्थे
त्यो चौतारीको सितल हावा र चिरबिर चिरविर
आवाजले चेलीको विलौनामा संगीत भरिन्थ्यो
मैनौं सम्म दरपाटिमा झुम्मिनी तिमी
नसै नसामा सडकमा रुमल्लिने तिमी

हे तीज!
रोधी घर र स्पिकर बिना आउनै छाड्यौ अहिले
हँसिया, खुर्पेटो बोक्नेलाई गिजाउँदै हिँड्न थाल्यौ अहिले
बस्ती बस्तीमा फरक तिमी
व्यक्ति व्यक्तिमा फरक
झुपडीमा पनि आउनी भए पो
दिन दुखीको घरमा पनि रमाउने भए पो
बुढा बा आमालाई नचाउने चेली पठाउने भए पो
तिम्रो नाम तीज राख्ने !

तिमी त !
लाखौं नखर्चि नआउने भइछौ
गाउँबस्ती बाट रेस्टुरेन्ट, होटलमा सीमित भइछौ
बहुमुल्य गरगहनामा मौलिकतालाई भुलेर
पश्चिमा बाद्य बादनमा झुमेर
अनेकथरी पूजाआजालाई लत्याई
ठाडो स्वरमा उताकै बोली भट्याई
आफन्त र इष्टमित्र बिर्सेर
काटमार र नसालाई अँगालेर
गाउँबाट दुखी दरिद्रीको घर बाट विदाई हुने

हे तीज !
तिम्रो नाम फेरौं न हुँदैन?
“सम्पन्नताको चाड” राखौं न हुँदैन???