वालिङमा नर्सिङ घरदैलो कार्यक्रम सुरू

साउन २४, २०८०


स्मार्ट संवाददाता ,वालिङ
२४ श्रावण २०८०

स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु गरेको छ। नेपाल सरकार,स्वास्थ्य मन्त्रालय,स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाको बीचमा हस्ताक्षर भएसँगै कार्यक्रम सुरु भएको हो ।

नागरिकको स्वास्थ्यलाई सबल बनाउन नगरपालिकाले वृहत कार्यक्रम सुरु गरेको जनाएको छ । नसर्ने रोगहरुले धेरैको मृत्यु भएको पछिल्लो समयमा नागरिकहरुलाई स्वास्थ्यसम्बन्धी चेतना फैलाउन यस कार्यक्रम सार्थक हुने छ ।

हस्ताक्षर कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले नगरको विकासको लागि नागरिकको स्वास्थ्य सबल हुनुपर्ने उल्लेख गर्दै स्वास्थ्य सबलताको लागि नर्सिङ घरदैलो कार्यक्रम सुरु गरिएको बताए ।उनले भने, ” नगर समृद्धिको लागि हामीले कार्यकालको बाँकी समयमा अर्थपूर्ण र प्रभावकारी कार्यक्रम लागू गर्दै जनप्रतिनिधिको दायित्वबाट कदापि पछि पर्ने छैनौँ ।”

कार्यक्रमको बारेमा सहजीकरण गर्दै स्वास्थ्य सेवा विभागका वरिष्ठ अस्पताल नर्सिङ शाखा प्रमुख बाला राईले नर्सिङ घरदैलो कार्यक्रमले नेपालमा व्याप्त बनेको नसर्ने रोगको प्रतिकुल प्रभाव र न्यूनिकरणको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निर्देशक हिरा निरौलाले नागरिकको स्वास्थ्यलाई सबल राख्न नगरपालिकाले चालेको कदम अर्थपूर्ण रहेको उल्लेख गरे। उनले नगरपालिकाको सम्पूर्ण वडामा खटिने स्वास्थकर्मीहरुले नागरिकको स्वास्थ्य सम्बन्धी पूर्ण तथ्याङ्क सङ्कलन,स्वास्थ्य अवस्था लगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने जानकारी दिए ।



नर्सिङ घरदैलो कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरुले नागरिकलाई मुटुरोग,मनोरोग,पाठेघरको क्यान्सर,स्तन क्यान्सर लगायतका बारेमा जानकारी दिँदै उनीहरुलाई स्वस्थ जीवनशैलीको आचरण अवलम्बन गर्न सचेतना फैलाउने नगरपालिकाले जनाएको छ ।