स्वास्थ्य शिविरमा उत्साहजनक सहभागिता

चैत ३०, २०८०


३० चैत २०८०, शुक्रबार

भीरकोट नगरपालिका र मनमोहन मेमोरियल अस्पताल, काठमाडौंको संयुक्त आयोजनमा भीरकोट नगर अस्पतालमा एक दिने वृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।भीरकोट नगरपालिकामा  शुक्रवार  भएको विशेषज्ञ सेवा सहितको वृहत् स्वास्थ्य शिविरमा नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

शुक्रबार सम्पन्न स्वास्थ्य शिविरबाट ७ सय ८५ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको  मनमोहन मेमोरियल अस्पताल, काठमाडौंका स्त्रीरोग विषेशज्ञ डा. मनोर दिन सैयदले जानकारी दिए। शिविरमा १ सय ३५ जना  सेवाग्राहीले स्त्रीरोग सम्बन्धी उपचार सेवा,२ सय  जनाले भिडियो एक्सरे सेवा, १ सय जनाले नाक, कान , घाँटी सम्बन्धि उपचार सेवा,१ सय जनाले हाडजोर्नी सम्बन्धी उपचार सेवा,५० जनाले सर्जरी सेवा, १ सय ५० जनाले सामान्य स्वास्थ्य उपचार सेवा र ५० जनाले बालरोगको उपचार सेवा लिएका थिए।स्त्रीरोग सम्बन्धी उपचार सेवा लिएका १ सय २० जनाको पाठेघरको क्यान्सर जाँच गरिएको थियो। शिविरमा ५ जनाको सामान्य अपरेसन गरिएको थियो भने थप ५ जनाको मनमोहन मेमोरियल अस्पतालमा निशुल्क अपरेसन सेवा प्रदान गरिने डा.सैयदले जानकारी दिए।

स्वास्थ्य शिविरमा  डा. मुज: श्रेष्ठ(शल्य चिकित्सा) ,डा. मनोर दिन सैयद (स्त्री तथा प्रसुती ),  डा. इबराज सिम्खडा (जनरल मेडिसिन/रेडियोलोजी)  , डा. उजोन शाक्य (हाड जोर्नी तथा नशा रोग), ड़ा. नबराज बराल (नाक/कान/घाटी),फिजिसियन ड़ा. प्रशन्न बोहरा (फिजिसियन), डा. धनु माया गुरुङ (फिजिसियन/बाल रोग ), सुनिला श्रेष्ठ (नर्सिङ), सुजिता गिरी (नर्सिङ), रंजित गिरी(फार्मेसी) र विजेता मगर(फार्मेसी) लगायतका  विशेषज्ञ र स्वास्थ्यकर्मीहरूले सेवा दिएका थिए।

भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले स्वास्थ्य सरकारको दायित्व भएकाले जनतालाई विषेशज्ञ सेवा दिन स्वास्थ्य शिविरको आयोजना गरिएको बताए। नगरपालिकाले नगर अपस्तालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हर सम्भव प्रयास गरिरहेको बताउँदै उनले नगर अस्पतालबाट स्वास्थ्य सेवा लिन सबैमा अनुरोध गरेका थिए।

गण्डकी प्रदेशका पूर्व शिक्षा मन्त्री मेखलाल श्रेष्ठले स्वास्थ्य सजगता अपनाउन र विषेशज्ञ  डाक्टहरूले दिएको सल्लाह, सुझावलाई पालना गर्न सेवाग्राहीलाई अनुरोध गरेका थिए।

भीरकोट बयरघारी जन्मस्थान भएका चर्चित समाजसेवी चिकित्सक डा. सैयदको पहलमा भीरकोटमा हरेक वर्ष स्वास्थ्य शिविर हुँदै आएको छ।  अहिलेको शिविरमा भेटिएका न्यून आय भएकाहरुलाइ पालिकाको सिफारिशमा नि:शुल्क रुपमा मेजर शल्यक्रिया(सामान्य शल्य चिकित्सा अन्तर्गत) सम्मको सुविधा प्रदान गर्ने ड़ा. सैयदले स्मार्ट अखबारलाई बताए।