भीरकोटमा  स्वास्थ्य शिविर हुँदै,  नि: शुल्क शल्यक्रिया सम्मको सुबिधा हुने

चैत २१, २०८०


२१ चैत्र २०८०, बुधबार

स्मार्ट अखबारद्वारा जनहितमा जारी सन्देश

भीरकोट नगरपालिकामा चैत्र ३० गते शुक्रवार  विशेषज्ञ सेवा सहितको वृहत् स्वास्थ्य शिविर  हुने भएको छ। भीरकोट नगरपालिका र मनमोहन मेमोरियल अस्पताल, काठमाडौंको संयुक्त आयोजनामा भीरकोट नगर अस्पताल, हेलुमा  चैत्र ३० गते शुक्रबार १ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने पालिकाले जनाएको छ।

स्वास्थ्य शिविरमा  डा. मुज: श्रेष्ठ(शल्य चिकित्सा) ,डा. मनोर दिन सैयद (स्त्री तथा प्रसुती ),  डा. इबराज सिम्खडा (जनरल मेडिसिन/रेडियोलोजी)  , डा. उजोन शाक्य (हाड जोर्नी तथा नशा रोग), ड़ा. नबराज बराल (नाक/कान/घाटी),फिजिसियन ड़ा. प्रशन्न बोहरा (फिजिसियन), डा. धनु माया गुरुङ (फिजिसियन/बाल रोग ), सुनिला श्रेष्ठ (नर्सिङ), सुजिता गिरी (नर्सिङ), रंजित गिरी(फार्मेसी) र सन्जिब कंडेल(अस्पतालका प्रबर्धन अधिकृत)  लगायतका विशेषज्ञहरूले सेवा दिने  अस्पतालका निर्देशक समेत रहनुभएका वरिष्ठ शल्य चिकित्सक डा. मुज: श्रेष्ठले  जानकारी दिएका छन्।

 भीरकोट बयरघारी जन्मस्थान भएका चर्चित समाजसेवी चिकित्सक डा. सैयदको पहलमा भीरकोटमा हरेक वर्ष स्वास्थ्य शिविर हुँदै आएको छ।  अहिलेको शिविरमा भेटिएका न्यून आय भएकाहरुलाइ पालिकाको सिफारिशमा नि:शुल्क रुपमा मेजर शल्यक्रिया(सामान्य शल्य चिकित्सा अन्तर्गत) सम्मको सुविधा प्रदान गर्ने ड़ा. सैयदले स्मार्ट अखबारलाई बताए।

राजधानीबाट चर्चित विशेषज्ञ चिकित्सकहरुको टोलीले नि:शुल्क स्वास्थ्य परीक्षण,परामर्श औषधि वितरणका साथै Video-XRay,महिला हरुको पाठेघरको प्रारम्भिक VIA टेस्ट र नि-शुल्क शल्यक्रिया समेत हुने भएकोले सो स्वास्थ्य शिविरमा  भाग लिएर स्थानीय जनताहरुलाई लाभान्वित हुन नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले आव्हान गरेका छन्।