प्रदेश शिक्षामन्त्रीद्वारा “हाम्रो भीरकोट” सार्वजनिक

भदौ २९, २०७८


भाद्र २९, भीरकोट खबर डेस्क,

राष्ट्रिय बाल दिवसको अवसर पारेर गण्डकी प्रदेशका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले संयुक्त रुपमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक “हाम्रो भीरकोट” सार्वजनिक गर्नुभएको हो ।भीरकोटका सम्पदाहरू र पहिचानलाई समेटेर नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा आधारित “हाम्रो भीरकोट” पुस्तकको लेखन/सम्पादन सहजीकरण साभ नेपालले गरेको हो । बाल दिवस समारोहका बिच “हाम्रो भीरकोट” पुस्तकको लेखन/सम्पादन सहजीकरण गरी अतुलनीय योगदान पुर्‍याउनु हुने साभ नेपालका अध्यक्ष डा. तुलसी खनाल प्रभासलाई पनि विशेष सम्मान गरिएको थियो । समारोहमा बोल्दै प्रदेश शिक्षा मन्त्री श्रेष्ठले नगरपालिकाको बालमैत्री कृयाकलापको प्रशंसा गर्दै यसको कार्यान्वयन पक्षलाई थप सशक्त र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो । बाल दिवसकै अवसर पारेर प्रदेश सरकारले बालबालिकाको हक सम्बन्धि विधेयक आजै प्रदेश संसदमा प्रस्तुत गरेको जानकारी गराउँदै उहाँले विद्यार्थीहरूलाई उच्च लक्ष्य राखी सोही अनुसार लक्ष्य प्राप्तिका मिहिनेत गर्न पनि आग्रह गर्नुभएको थियो ।

बाल दिवस समारोहमा सार्वजनिक भएको पाठ्यपुस्तक “हाम्रो भीरकोट” का लेखक/सम्पादक एवं साभ नेपालका अध्यक्ष खनालले नेपाल भरीमै कक्षा १-८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने पहिलो स्थानीय निकाय भीरकोट नगरपालिका भएको जानकारी दिंदै आफ्नै जन्मथलोमा बाल शिक्षाका क्षेत्रमा काम गरी सम्मानित हुन पाउँदा एकदमै खुसी भएको बताउनुभएको थियो । समारोहमा बालबालिका तथा शिक्षाप्रेमी नगर प्रमुख छायाराम खनालले बाल दिवसकै अवसर पारेर नगरपालिकाले आमाबाबु विहिन टुहुरा/अनाथ बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेको बताउँदै उनीहरूको आधारभूत आवश्यकता परिपूर्तिको लागि नगरले १८ बर्ष सम्म मासिक रू. १,००० दिइने पनि घोषणा गर्नुभएको थियो । नगरले बालविवाह अन्त्यका लागि काम गरिरहेको बताउँदै उहाँले नगरमा बालश्रमिकको संख्या शुन्य रहेको जानकारी पनि दिनुभएको थियो ।