निशुल्क आँखा शिविरबाट २ हजार भन्दा बढी लाभान्वित 

बैशाख १६, २०८०


स्मार्ट संवाददाता, गल्याङ

१६ वैशाख २०८०

गल्याङ नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा नगरबासीलाई पहुँच पुर्‍याउने उदेश्यले विभिन्न रोगका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।केही महिना अगाडि गल्याङ नगरपालिका भित्रका ११ वटा वडाहरुमा निःशुल्क बृहत् स्वास्थ शिविर सञ्चालन गरको नगरले नेपाल नेत्र ज्योति संघ हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र गल्याङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा निःशुल्क आँखा जाँच,औषधि तथा चस्मा वितरण कार्य सम्पन्न गरेको छ ।

बिज्ञापन

गल्याङ नगरपालिका भित्र ५ ठाउँमा सञ्चालन गरिएको शिविरमा २ हजार १ सय जना बिरामीले सेवा लिएका छन् ।कार्यक्रमको समापन गर्दै गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले आर्थिक हिसाबले विपन्न परिवारका लागि  शिविरले महत्व राख्ने बताए ।

नगर प्रमुख भट्टराईले  केही महिना अगाडि बृहत्  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र अहिले आएर निःशुल्क  आँखा शिविर  सम्पन्न भएको बताउँदै आगामी दिनमा सामान्य देखि घातक रोगहरुको शिविर गाउँ,टोल टोलमा सञ्चालन गर्ने कुरा बताए।

नागरिक  स्वास्थ्य भए व्यक्ति घरपरिवार र समाज स्वस्थ हुने र स्वस्थ नागरिकले समृद्व नगर निर्माणमा टेवा पुर्‍याउने उनको बुझाई छ । “आर्थिक अभाव भएका नागरिकलाई पनि स्वास्थ्य उपचारको पहुँच पुर्‍याउनु मेरो लक्ष्य हो”, नगर प्रमुख भट्टराईले भने ।



५ दिन सम्म गल्याङ नगरपालिका भित्रका वडा नं.८, वडा नं.६, वडा नं.४ , वडा न. ११ र वडा नं.३ मा गरि ५ वडामा सञ्चालन भएको निःशुल्क आँखा जाँच,औषधि तथा चस्मा वितरण कार्यक्रममा २ हजार १ जनाले सेवा लिएका थिए भने ६०० चस्मा र निःशुल्क औषधि समेत  वितरण गरिएको कुरा गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद ओलीले जानकारी दिए ।