गजल

चैत ०३, २०७८


३ चैत्र २०७८

दिलभित्र आलो घाउ छ, मलम लाउने उनी छैनन्
सारा रात सपनीमा, सताउने खुनी छैनन् ।

कैले कतै भेट हुँदा, मुसुमुसु मुस्कुराउँथिन्
जीवनको बाटोभरि, साथ दिने गुनी छैनन् ।

एक्ला दिन सधैंभरि, पट्यारलाग्दा हुँदा रैछन्
आधा जीवन बाँचेको छु, आधा मेरी जुनी छैनन्

सम्झनालाई कुनै दिन, जाली रुमाल पाएको थें
नधोएको धेरै भयो, मैलिएछ धुनी छैनन् ।

दुःख पर्दा प्रभासलाई, कैले कैले साथ दिन्थिन्
आजकल एक्लै रुने गर्छु, संगैसंगै रुनी छैनन् ।
डा.तुलसी प्रभास