भीरकोटमा पनि मनाइयो गाइजात्रा पर्व ।
भदौ ७, भीरकोट खबर डेस्क,
भीरकोटका नेवार समुदायले परम्परागत धार्मिक पर्व गाइजात्रा मनाएका छ्न् । भीरकोटको छाङ्छाङ्दी, मोहनडाँडा, लामाचौर, बयरघारी लगायतका स्थानहरूमा यो पर्व वर्षेनी मनाइन्छ । धार्मिक र सांस्कृतिक विशेषता बोकेको यो पर्व काठमाडौँ उपत्यकका नेवार समुदायले विशेष महत्वका साथ मनाउँदछ्न्। नेवार समुदायले मनाउने यो पर्व पुत्र वियोगमा रहेकी आफ्नी रानीलाई सान्त्वना प्रदान गर्न एवं जन्म पछि मृत्यु अवश्यम्भावी छ भन्ने कुरा प्रष्ट पार्न राजा प्रताप मल्लले सुरु गरेको हुन् । हिन्दू धर्ममा गाई पवित्र जनावर हो । दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइन्छ । यसै गरी मृतकको सम्झनामा अन्य खालका रङ्गीचङ्गी विम्वहरू पनि प्रयोग गरिन्छ ।
नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ पनि भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । गाइजात्राको अवसरमा समाजका नकारात्मक पक्ष र पवृत्ती प्रती व्यङ्ग्य गर्दै रमाइलो गर्ने प्रचलन पनि छ ।