तालाबन्दीको समाचार भ्रामक: फेदिखोला गाउँपालिका

मङि्सर २२, २०७९


स्मार्ट संवाददाता
२०७९ मंसिर २२

विज्ञापन
बिज्ञापन

बिहिवार फेदीखोला गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको विषयमा विभिन्न संचार माध्यममा प्रकाशित समाचार प्रती पालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज पालिकाले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष कार्यकक्षमा नभएको बखत पारी अध्यक्षको कार्यकक्षमा गरिएको तालाबन्दी र सामाजिक सञ्जालमा फैलाइएको भ्रामक खबरप्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको बताएको हो ।केही कार्यपालिका सदस्यहरूले पदीय मर्यादा मिचेर कार्यपालिका बैठक छोडेर हिडेको र विधिसम्मत तरिकाले फरक मत राख्नुको सट्टा दल र व्यक्ती विशेषको उक्साहटमा पालिकाका गतिविधिकै कुप्रचार गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र बैठकलाई सभ्य तथा पद्धतिसम्मत बनाउने अधिकार गाउँपालिका अध्यक्षलाई प्रदान गरेको छ । फरक मत भएको खण्डमा तर्कसँगत रुपमा विचार पेश गरि उक्त प्रस्ताव पास गर्ने वा नगर्ने अधिकार सबै कार्यपालिका सदस्यमा निहित छ । कार्यपालिका बैठक जस्तो सम्मानित तथा साझा फोरमलाई कुनै दल विशेषको प्रयोगथलो र अराजक मानसिकताले मनलाग्दी रुपमा प्रयोग गर्ने कार्य विल्कुल क्षम्य हुँदैन ।”

“गाउँसभाद्वारा स्वीकृत दरबन्दी अन्तर्गत रहि प्रशासकीय अधिकृतको कार्याधिकार बमोजिम कार्यसम्पादनको आधारमा गरिएको करार नविकरण, प्रचलित ऐन नियमानुसार प्रशासनिक अधिकार अन्तर्गत रहि कर्मचारीहरुको माग समेतलाई सम्बोधन गरि गरिएको सरुवा, स्वीकृत दरबन्दी अनुसार मागिएका विज्ञापनलाई राजनीतिक चश्माले हेर्नु प्रशासन र राजनीतिको सम्बन्धलाई नबुझ्नु नै हो ।”गाउँपालिकाका प्रवक्ता अभिलाश गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोपको खण्डन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कार्यालयमा तालाबन्दी भएपनि पालिकाको विकास, समृद्धि र जनताको काममा निरन्तर लागिपर्ने बताएका छ्न्।



कर्मचारी सरुवामा वडा अध्यक्षहरु सगँ समन्वय नभएको, लेखा समिति गठन नगरी मनपरी खर्च गरिएको, गाँउपालिकाको काममा प्रयोग गर्नुपर्ने सवारी साधन नीजि काममा प्रयोग गरिएको, शिक्षा समितिलाई पुर्णता नदिई शिक्षक सरुवामा अनियमिता गरिएको लगायत आरोप लगाउँदै नेपाली काँग्रेसबाट निर्वाचित असन्तुष्ट जनप्रतिनिधिहरूले बिहिबार गाउँपालिका अध्यक्ष सुवेदीको कार्यक्षमा तालाबन्दी गरेका थिए। ११ बुँदे मागपत्र अध्यक्षको ढोकामा टाँसेर तालबन्दी गरेको असन्तुष्ट पक्षले पेश गरिएको मागपत्रको सुनुवाई नभएसम्म तालाबन्दी यथावत रहने बताएको छ । पालिका अध्यक्ष सुवेदी र प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले वडा अध्यक्ष र कार्यपालिका सदस्यको मानमर्दन गरेको समेत आरोप उनीहरुको छ ।

बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा फेदिखोलामा पालिका अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ भने कार्यपालिका नेपाली काँग्रेसले जितेको छ । कार्यपालिकामा अध्यक्ष अल्पमतमा रहेकाले सुबेदीले एकल निर्णय गर्दै आएको आरोप काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको छ।