फेदीखोलाले १६ टन मकैको बीउ बिक्रि गर्दै

फागुन १३, २०७८


स्मार्ट अखबार संवाददाता
१३ फागुन २०७८
स्याङ्जाको फेदीखोला गाउँपालिकाले १६ टन मकैको बीउ गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा बिक्रि गर्ने भएको छ।गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीकाका अनुसार फेदीखोलाको वाड न. ४ आरुखर्क जैसिडाँडामा ५०० रोपनी जग्गामा मनकामना-३ जातको मकैको खेती गरिएको छ।३०० जना कृषकहरूले उत्पादन गरेको मकैको बीउको बिक्री वितरणको लागि समेत नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गरेको छ।



फेदीखोला गाउँपालिका मकैको बीउ उत्पादनमा यो आर्थिक वर्षबाट गण्डकी प्रदेशमै पहिलो भएको कृषि शाखाले जानकारी दिएको छ।उत्पादित बीउ स्याङ्जाका अन्य पलिका, कास्की,पर्वत , तनहुँ लगायतका अन्य जिल्लाहरूमा बिक्रि गरिने जैसीडाँडा मकै उत्पादन समुहका सचिव कल्पना पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ” गाउँपालिकाले बीउ उत्पादनका लागि आवश्यक पर्ने कृषि सामाग्री, औजार र आर्थिक सहयोग गरेको छ।महिला कृषकहरूको समूह भएकाले बीउ उत्पादन कार्यक्रमले महिलाहरूको जीवन स्तरमा समेत सुधार भएको छ।एक जना महिला कृषकले बीउ बिक्रिबाट औषतमा वार्षिक रू ५० हजार भन्दा बढी आम्दानी गर्नुभएको छ।” हाल मकैको बीउको प्याकेजिङको काम भैरहेको र अहिले सम्म १५ टन प्याकिङ भैसकेको बताउँदै उहाँले पालिकाले गत वर्ष ३० लाख र यो वर्ष १० लाख सहयोग गरेको जानकारी दिनुभयो। पौडेलका अनुसार प्रमाणित मूल बीउ प्रती केजी सय रूपैयाँ र उन्न्त बीउ प्रति केजी नब्बे रूपैयाँमा बिक्रि गरिने छ।
पालिका उपप्रमुख देबी थापाले कृषकहरूलाई व्यवसायीक बनाउन पालिकाले सक्दो सहयोग गरिरहेको बताउँदै जैसीडाँडा मकै उत्पादन समुहको बीउ उत्पादन कार्यक्रमले महिला कृषकहरूको आम्दानी र जीवनस्तरमा समेत सुधार ल्याएको बताउनुभयो।



कृषि शाखा प्रमुख शिशिर पण्डितकाले पालिकाले यो वर्षदेखी वडा नं ३ को भाटखोला क्षेत्रको करिब १७० रोपनी जग्गामा मनकामना -५ जातको मकैको बीउ उत्पादन गर्न लागेको जानकारी दिनुभयो।सहयात्रा कृषि सहकारीसँगको सहकार्यमा गरिने यो मकै उत्पादन पकेट क्षेत्रको लागि पालिकाले २५ लाख रुपैयाँ छुट्याएको छ।