समृद्ध भीरकोटको लागि सहकार्य अत्यावश्यक: नगर प्रमुख खनाल

असोज ०३, २०७८


आश्विन २,भीरकोट खबर डेस्क,



स्याङ्जाको पहिलो बालमैत्री नगरपालिका भीरकोटले आफ्नो सातौं स्थापना दिवस र संविधान दिवस मनाएको छ।भीरकोट नगर नगरपालिकाको स्थापना वि. सं. २०७२ साल असोज २ गते भएको थियो। मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको शासन क्षेत्रभित्र पर्ने ठाउँहरू समेटेर नगरपालिका स्थापना गरिएको हुनाले नगरको नाम पनि भीरकोट रहन गएको हो।
साविकका खिलुङ्,स्वरेक,दहथुम,बानेथोक देउराली र कालिकाकोट गा.वि.स.का भौगोलिक रूपमा पाएक पर्ने वडाहरू समेटेर स्थापना गरिएको भीरकोट नगरपालिकाको पुर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ्ग नगरपालिकालसँग सिमाना जोडिएको छ ।



नगरमा कृयाशील राजनीतिक दल ,भीरकोट उद्योग वाणिज्य संघका पदाधिकारी,ब्रह्मकुमारी इश्वरीय विद्यालयका प्रतिनिधि,वित्तीय संस्थाका प्रतिनिधि , टोल विकास समिति संयोजक,जनप्रतिनिधि र विषयगत शाखा प्रमुखहरूको उपस्थितीमा मनाइएको नगर स्थापना एवं संविधान दिवस समारोहमा वक्ताहरूले समृद्ध र सुखी भीरकोट निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो।

नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन योजना अधिकृत याम प्रसाद रेग्मीले गर्नुभएको थियो। नगर उपप्रमुख सिमा के.सी कर्माचार्यको स्वागत सँगै सुरू भएको कार्यक्रममा बोल्दै वडा नं २ का अध्यक्ष कमल त्रिपाटीले जनताका गुनासा ,समस्या र पिर, मर्कालाई सामाजिक सञ्जालमा राख्नुभन्दा पहिले जनप्रतिनिधिसँग राख्न आग्रह गर्नुभएको थियो।भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्त बहादुर के.सी. ले जनप्रतिनिधि र कर्मचारीहरूलाई समयको पालना गर्दै नगरपालिकाका सबै गतिविधि र विकासका कार्यक्रमहरू तोकिएको समयमा सुरू र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो।

नेकपा एमालेका नेता सन्तोष के.सी.ले नगरपालिकाले प्राकृतिक र सांस्कृतिक सम्पदाको सदुपयोग गर्दै सभ्य र सुसंस्कृत शासन व्यवस्थाको प्रत्याभूति गराउनु पर्ने कुरामा जोड दिनुभएको थियो।ग्रामीण सडक पूर्वाधारको दीगो विकास गर्न र स्थानीय तहमै रोजगारीको सृजना गर्न सकेमा मात्र जनताले आफ्नो नगरपालिका प्रती गर्व गर्न सक्ने अवस्था आउने बताउनुभयो। नेपाली काङ्ग्रेसका नगर सभापति तोयनाथ अर्यालले निर्वाचनको समयमा बाँडिए पनि विकासका लागि सबै राजनीतिक दल र संघसंस्था एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो।विकास गर्न समय लाग्ने भन्दै सिमित स्रोत र साधनका बाबजुद जनआकांक्षा बमोजिम काम गर्नका लागि जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो।कार्यक्रममा सहभागी वक्ताहरूले भीरकोट नगरपालिकाको स्थापनामा सविधानसभा सदस्य स्व. कमल पङे्नीको अतुलनीय योगदान रहेको र संविधान निर्माण/घोषणा गर्नमा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अमूल्य योगदान रहेको स्मरण गरेका थिए।वक्ताहरूले नगरपालिकाको विकास, समृद्धि र सुशासनको लागि सबै एकजुट भएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो।

नगर प्रमुख खनालले नगरको विकास र समृद्धिका लागि आफूले सक्दो पहल गरिरहेको बताउँदै नगरलाई आर्थिक रूपमा बलियो बनाउन दीगो आम्दानी हुने विकास कार्यक्रमहरू संचालनमा नगरपालिकाले काम गरिरहेको बताउनुभएको थियो।विद्यालयको आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने,नगरको डिजिटल प्रोफाइल तयार गर्ने काममा नगरले सफलता हासिल गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो।बालमैत्री स्थानीय तहको प्रत्याभूति दिलाउन अनाथ तथा टुहुरा बालबालिकालाई मासिक रू १,००० सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरिएको बताउँदै उहाँले अहिले सम्म भएका राम्रा नराम्रा कामहरूको जस अपजस लिन आफू तयार रहेको बताउनुभएको थियो। हरेक आर्थिक वर्षमा ९० प्रतिशत भन्दा बढी पुँजीगत प्रगति भएको बताउँदै उहाँले नगरपालिका २० वर्षे दीर्घकालीन सोच र लक्ष्यका साथ अगाडि बढीरहेकाले भीरकोटको समृद्दिका सबैको सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको थियो।