सबैभन्दा कान्छा प्रदेश सभापति काङ्गेसका पालिका अध्यक्षका उम्मेदवार
स्याङ्जा, ०८ वैशाख ।
युवराज पौडेल ।
नेपाली काङ्ग्रेसको गत महाधिवेशनमा स्याङ्जा प्रदेश १ ‘ख’ बाट अत्यधिक मतले प्रदेश सभापतिका रुपमा विजयी काङ्ग्रेसका युवा नेता प्रकाश तिवारी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाबाट अध्यक्षको उम्मेदवारको मुख्य दाबेदार बनेका छन । उनी काङ्ग्रेसको १४ औँ महाधिवेशनमा नेपालकै सबैभन्दा कान्छा प्रदेश सभापति बनका थिए । उनी ३२ वर्षको उमेरमा प्रदेश सभापति बनेका हुन् ।
काठमाडौं विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा ब्याचलर गरेका तिवारीले भारतीय राजदुताबासको सहयोगमा भारतबाट एमबिए गरेका छन् । उनी २२ वर्षको उमेरमै ‘उद्यमी नेपाल’ संस्थाको संस्थापक अध्यक्ष भएर उद्यम र रोजगारको क्षेत्रमा काम गरिरहेका व्यक्ति हुन् । उनी २४ वर्षको उमेरमा ह्याथवे फाइनान्सको निर्देशक भए भने २६ वर्षको उमेरमा पाँचतारे र्याडिसन होटेलको निर्देशक भए । उनी बैङ्किक तथा बिमा समितिको केन्द्रीय सदस्य समेत भइसकेका छन् ।
२० वर्षको कलिलो उमेरमा काङ्ग्रेसको क्रियाशील सदस्य भएका तिवारी नेपाली काङ्ग्रेस उद्योग वाणिज्य विभागको सबैभन्दा कान्छो केन्द्रीय सदस्य समेत हुन् । उनी ३० वर्षको उमेरमा सो विभागको केन्द्रीय सदस्य बनेका हुन् ।
अर्जुनचौपारी गाउँपालिकामा तिवारीसहित दीर्घनारायण अर्याल, खेमनारायण खनाल, फणीनारायण अर्याल, जनक खनाल, विष्णु काफ्ले, रामचन्द्र पौडेलसहित सात जनाले अध्यक्षको उम्मेदवारीमा दाबी गरेपछि पालिका कार्यसमितिमा सहमतिको प्रयास भएको थियो । तर सहमति हुन नसकेपछि आकाङ्क्षी सबै अध्यक्ष र उपाध्यक्षका नामहरु जिल्ला कमिटीमा पठाइएको छ ।
तिवारी आफूले गाउँपालिकाको नेतृत्व लिएर एकपटक आफ्नो मातृभूमिको ऋण तिर्न चाहेको बताए । सानो उमेरमा विभिन्न पदहरुमा रहेर उद्यम र रोजगार तथा व्यवस्थापनका क्षेत्रमा काम गरे तापनि जन्मभूमिको सेवा गर्न नपाउँदा ती सबै भएर पनि आफू रमाउन नसकेको उनले बताए । वित्तीय साक्षरतामा विशेषज्ञता हासिल गरेका तिवारीले आफ्नो गाउँपालिका जिल्लाकै पिछडिएको पालिका बनिरहेको, बेथिति र भ्रष्टाचारले आक्रान्त बनेको अवस्थामा धेरै गर्न नसके पनि ती सबै बेथितिबाट मुक्त बनाउन आफू लागिपर्ने बताए । उनले आफू शिक्षामा बढी केन्द्रित हुने योजना रहेको पनि बताए ।