स्याङ्जामा मतदानको सम्पूर्ण तयारी पूरा

मङि्सर ०३, २०७९


स्मार्ट संवाददाता, स्याङ्जा
३ मंसिर २०७९

प्रतिनिधि सभा तथा प्रदेश सभाको भोलि हुन गैरहेको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जिल्लाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञावलीले जानकारी दिए। जिल्लाका २ वटै निर्वाचन क्षेत्रका सम्पूर्ण  मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिइसकेको र सर्वदलीय बैठक, मतदान केन्द्र निर्माण एवं व्यवस्थापनको काम सकिएको मुख्य निर्वाचन अधिकृत ज्ञावलीले बताए। निर्वाचनमा खटिएका मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी मतदातालाई स्वागत गर्न आतुर रहेको उनको भनाई छ। जिल्लामा अहिले सम्म कुनै अप्रिय घटना नभएको उनले बताए।

मुख्य निर्वाचन अधिकृत ज्ञावलीले अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानको दिन मतदान केन्द्रमा जाँदा आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाणपत्र , राष्ट्रिय परिचय पत्र, जग्गाधनी प्रमाणपत्र , राहदानी / पासपोर्ट , सवारीचालक अनुमतिपत्र मध्ये कुनै एकको सक्कल प्रती लिएर जान समेत अनुरोध गरेका छ्न्।

विज्ञापन

२ वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ सय ९९ मतदानस्थल मध्ये ६१ वटा मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । त्यस्तै, स्याङ्जाका ६६ मतदानस्थल संवेदनशील र ७२ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ।जिल्लामा निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना ३ सय ८३, नेपाल प्रहरी ९ सय ६५, सशस्त्र प्रहरी ३ सय १३ जना , १ हजार ८ सय म्यादी प्रहरी गरि ३ हजार ४ सय ९७ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । सुरक्षाको पूर्ण प्रबन्ध गरिएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन प्रमुख जिल्ला अधिकारी क्षेत्रीले मतदातालाई आग्रह गरेका छ्न्।

बिज्ञापन

जिल्लामा १९९ मतदान स्थल र ३ सय २० मतदान केन्द्रमा दुई हजार ५ सय ५० कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।जिल्लामा १ लाख १९ हजार ३१० जना पुरुष, १ लाख २४ लाख ७ सय ७८ महिला र १ अन्य गरी २ लाख ४४ हजार ८९ मतदाता छन् ।

नागरिक एपबाट मतदाताको मतदान केन्द्रको नाम, नक्सा, वास्तविक क्रमसंख्या उपलब्ध हुने र यो क्रमसंख्या मतदान गर्न जाँदा उपयोग गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। तर एपमा देखाएको विवरणकै आधारमा मात्रै भने मतदान गर्न नपाइने आयोगले प्रष्ट पारेको छ।मतदानका लागि मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने परिचयपत्र साथमै लैजानु पर्नेछ ।