भीरकोटमा एमालेको सरकार बनाउने महत्वाकांक्षा, सम्भव होला त?
१६ वैशाख २०७९, स्याङ्जा
स्याङ्जा जिल्लाको सबैभन्दा कान्छो नगरपालिका भीरकोटमा नेकपा एमालेको सरकार बनाउने महत्त्वकांक्षा बोकेर एमालेले नगर कमिटी अध्यक्ष एवं युवा नेता विश्वनाथ अर्याललाई मेयरको उम्मेदवार चयन गरेको छ।
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ६ भण्डारखोला बगरेबजार स्थायी ठेगाना भएका विश्वनाथ अर्याल सरल तथा विनोदप्रिय नेताका रूपमा परिचित हुनुहुन्छ।साधारण जीवनशैली र सबैसँग समान व्यवहार गर्ने हरेक मानिसलाई आफ्नो विचार र कुराद्वारा प्रभावमा पार्न सिपालु हुनुहुन्छ।
साधारण परिवारमा विसं २०४९ साल भदौ १४ गते जन्मिएका उहाँले अर्थशास्त्र र नेपालीमा एम.ए सम्मको अध्ययन गर्नुभएको छ।
नेपाली कांग्रेसको गढ मानिएको भीरकोटबाट फरक धार र फरक विचारको राजनीतिमा उदाउनु उहाँको लागि सामान्य कुरा पटक्कै थिएन। एक त कमजोर पारिवारिक आर्थिक अवस्था, त्यसमाथि बाबुको फरक शारीरिक क्षमता। समस्यै समस्यामा उहाँले फरक सम्भावना र राजनैतिक भविष्य देख्नुभयो। र होमिनुभयो काँग्रेसको राजनीतिभन्दा फरक पृष्ठभूमि बनाउन र समाजमा परिवर्तनको अनुभूति दिलाउन।
उहाँको क्षमता, कार्यकुशलता, लगनशीलता र सहनशीलता यति चुलियो कि ३० वर्षभन्दा कम उमेरमै उहाँलाई नेकपा एमाले पार्टीले भीरकोट जस्तो जटील राजनीतिक पृष्ठभुमि बोकेको नगरपालिकाको नगर कमिटी अध्यक्षको जिम्मेवारी दियो।अनि भीरकोटमा नेकपा एमालेकै सरकार बनाउने महत्वाकांक्षी अठोटका साथ मेयर पदमा उम्मेदवार बनायो। उहाँको मनमा एक दृढ अठोट छ, “यसपटक काँग्रेसको गढमा एमालेको विजयी झण्डा फहराउने। पाँच वर्षमा भीरकोटलाई युवाको चाहना र माटोको सम्भावना अनुरूप विकसित बनाउँदै कम्तिमा भीरकोटका बासिन्दालाई नगरपालिकाका बासिन्दा हौं भन्ने अनुभूति दिलाउने।”
अनेरास्ववियुको प्रारम्भिक कमिटी (भाग्योदय मावि, उजेलीडाँडा)को अध्यक्ष हुँदादेखि नै उहाँले आफ्नो लोकप्रियता, संयमित भाषण र नेतृत्व गर्ने क्षमता वृद्धि गर्नुभयो। वालिङ बहुमुखी क्याम्पसमा २०६५ सालमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा जसको कारण उहाँले भारी बहुमतले विजयी हासिल गर्नुभयो।
वालिङ बहुमुखी क्याम्पस स्ववियु सभापति हुँदै गर्दा उहाँ अनेरास्ववियु स्याङ्जा जिल्ला कमिटी सदस्य समेत बन्नुभयो। साविक खिलुङ देउराली गाविसमा औंलामा गन्न सकिने एमाले नेता तथा कार्यकर्ता रहेको अवस्थामा उहाँले एमाले पार्टीको राजनीतिमा हामफाल्नुभयो।
अनेरास्ववियु स्याङ्जा जिल्लाको सदस्य, सचिवालय प्रमुख हुँदै २०६९ साल माघ १० र ११ गते गल्याङमा भएको २३ औँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा चुनिएपछि उहाँको चर्चा झनै चुलियो। नेपालका तत्कालीन ७५ जिल्ला कमिटीमध्ये उत्कृष्ट हुँदै सर्वोत्कृष्ट विद्यार्थी नेताको सम्मान अनेरास्ववियु इतिहासमै पहिलोपल्ट प्राप्त गरेपछि उहाँको चर्चा देशभर व्यापक रुपमा फैलियो।
लगत्तै उहाँ नेकपा एमालेको जिल्ला सदस्य बन्नुभयो। यसअघिको स्थानीय तहको निर्वाचन २०७४ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पश्चात बनेको नेकपा पार्टीको कालखण्डमा जिल्ला सदस्य तथा भीरकोट नगरसचिव बन्नुभएका अर्याल सर्वोच्च अदालतको फैसला पश्चात बनेको नेकपा एमालेका जिल्ला सदस्य तथा भीरकोट नगर अध्यक्ष बन्दै चुनावी मैदानमा होमिनुभएको हो।
राजनैतिक छवि मात्र नभई सामाजिक छवि समेत बनाउनुभएका उहाँ धर्ममा समेत विशेष रुचि राख्नुहुन्छ। “कम्युनिस्टले धर्म मान्दैनन्, धर्म अफिम हो” भनी समाजमा गरिएको गलत प्रचार विरुद्ध उहाँ खरो रुपमा उत्रनुहुन्छ। हरेक सोमबार व्रत बस्दै छायाँक्षेत्र मन्दिर जानुहुन्छ। विभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेका अर्याल हाल दहथुम बहुमुखी क्याम्पस, भाग्योदय मावि, शुभलक्ष्मी सहकारी संस्था लिमिटेडमा समेत आबद्ध हुनुहुन्छ।उहाँ भीरकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ।
आफ्नो जीत सुनिश्चित भएको दाबी गर्दै उहाँले पर्यटन र दिगो पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सम्पूर्ण भीरकोटबासीको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गर्नुभएका अर्यालले भीरकोटका बाँदर पीडित किसानलाई राहत दिलाउन बाँदर प्रभावित क्षेत्रमा बाँदरले नखाने जातका कृषि उपज लगाउने कृषकलाई शतप्रतिशत अनुदानको व्यवस्था गर्ने महत्त्वकांक्षी योजना समेत अगाडि सार्नुभएको छ।यसैगरी प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट कृषकको उर्वर भूमी वा उत्पादनमा क्षती पुगेमा समेत शतप्रतिशत अनुदान दिइने बताइएको छ।शिक्षकलाई प्रविधिमैत्री बनाउन सामुदायिक र संस्थागत विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई “एक शिक्षक, एक ल्यापटप” कार्यक्रममा जोडिने समेत पार्टीले जनाएको छ। यद्यपि पार्टीको स्थानीय निर्वाचन लक्षित घोषणापत्र भने औपचारिक रूपमा सार्वजनिक भैसकेको छैन।
गत स्थानीय निर्वाचनमा एमालेले झिनो मतान्तरले ४ वटा वडामा मात्रै जितेको थियो।नेपाली कांग्रेसको बलियो पकड रहेको भीरकोट नगरपालिकामा अहिले कांग्रेसकै नेता कार्यकर्ताले समेत चुनावमा कडा प्रतिस्पर्धा हुने आंकलन गरेका छ्न्।दुबै पार्टीका नेता कार्यकर्ताले आफ्नो जीत सुनिश्चित भएको बताएपनि चुनावी नतिजा नआएसम्म मेयरमा कसले बाजि मार्ला भन्न सकिने अवस्था छैन।यद्यपि कांग्रेसमा अन्य प्रभावशाली र शसक्त उम्मेदवार हुँदाहुँदै पनि तुलनात्मक रूपमा कमजोर उम्मेदवारले टिकट पाएको हुँदा कांग्रेसकै नेता तथा कार्यकर्ता भीरकोटमा एमालेको सरकार आउने महत्वाकांक्षा र सम्भावनालाई घुमाउरो पारामा स्वीकार गरेका छ्न्।