शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुस् : सांसद गुरूङ

माघ १०, २०८०


शेखरप्रसाद कोइराला, पोखरा
१० माघ २०८०

हिमालय माध्यमिक विद्यालयले आफ्नो ७६ औं वार्षिकोत्सब धुमधामका साथ मनाएको छ। कास्कीको  मादी गाउँपालिका वडा ९ गोर्जेमा अवस्थित हिमालय मा.वि.  वि. स २००४ सालमा भाषा  पाठशालाको रुपमा स्थापना गरिएको थियो।

वडा नं ८ र ९ को एकमात्र माध्यमिक विद्यालयले कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरूङको प्रमुख आतिथ्यतामा ७६ औं वार्षिकोत्सब मनाएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङ्ले  सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए। भौतिक र आर्थिक पक्षको जिम्मा सरकारले लिएको बताउँदै सांसद गुरूङले  गुणस्तर वृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावक लागि पर्नुपर्ने बताए। हाल १२ पास पछि विदेस जाने प्रचलन  बढेको बताउँदै सांसद गुरूङले   कम्तिमा स्नातक र स्नातकोत्तरसम्म स्वदेशमै  अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए । विद्यालयका प्रधानाध्यापक चन्द्रमणी अधिकारीले विद्यालयको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा शैक्षिक सत्र  २०७९ को वार्षिक परीक्षामा  उत्कृष्ट अंक प्राप्त गर्ने   विद्यार्थीहरूलाई पुरस्कार र छात्रवृत्ति प्रदान गरिएको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सब समारोह विद्यालयका शिक्षक अमृत ढकालको स्वागतसँगै सुरू भएको  थियो भने कार्यक्रमको  संचालन शिक्षक प्रकाश अधिकारीले गरेका थिए।समारोहमा  निवर्तमान प्रधानाध्यापक  दुर्गा बहादुर गुरुङ र मङ्सिरमा अवकास भएका  शिक्षक कृष्ण प्रसाद अधिकरीलाई सम्मान गरिएको थियो ।