भाग्योदय माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव

माघ १४, २०७९


स्मार्ट संवाददाता ,भीरकोट
१४ माघ २०७९

विज्ञापन

भीरकोटको नमुना विद्यालय भाग्योदय माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव समारोह अभिभावक भेला एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।शुक्रसमारोहमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय उपसभापति तथा संघीय सांसद धनराज गुरुङले विद्यालयको शैक्षिक गुणस्तरका लागि सरकारको तर्फबाट कुनै पनि सहयोग गर्न कसर बाँकी नराख्ने बताएका छन् । गुरुङले विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएकोप्रति खुसीसमेत व्यक्त गरेका थिए । उनले कृषि प्राविधिक शिक्षासहितको अध्यापनले भीरकोटको नमुना विद्यालयको रुपमा स्थापित भएकोमा बधाई दिए ।

विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्रध्यानाध्यापक रेशमलाल खनालले शिक्षा समाजको ऐना हो, जीवन जीउने आधार हो र विकासको मेरुदण्ड भएको हुँदा आवश्यकता अनुसार विद्यालयमा अहिले होस्टेल समेत संचालनमा रहेको जानकारी दिएका थिए । विद्यालयको भौतिक एवम् आर्थिक प्रगतिसँगै शैक्षिक गुणस्तरमा सुधार आएको तथा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको खनालको दावी छ । साथै विद्यालयमा ल्याव, पुस्तकालय र अध्ययन कक्ष निर्माण गर्ने गरी प्रक्रिया अघि बढेको समेत उनले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सासंद भोजराज अर्याल र कल्पना तिवारी, भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य, भीरकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख छायाराम खनाल, नेकपा एमालेका नगर अध्यक्ष विश्वनाथ अर्याल, अक्षयकोषका संरक्षक मदन रेग्मी, विद्यार्थीहरु शुभ अर्याल, आशिका खनाल र अनिशा दर्जी लगायतले मन्तव्य दिएका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक पुण्यप्रसाद खनालले गरेका थिए भने स्वागत सहायक प्रधानाध्यापक पुण्यप्रसाद अर्यालले गरेका थिए ।

कार्यक्रममा निवर्तमान प्रध्यानाध्यापक रेशम प्रसाद रेग्मी, शिक्षकहरु राजु गैह्रे, भोजबहादुर थापा, रामप्रसाद खनाल, प्रेमनारायण खनाल र बेडुमाया थापालाई पुरस्कृत तथा सम्मान गरिएको थियोे । कार्यक्रममा पूर्व प्राथमिक देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुलाई विभिन्न विधामा ३९ वटा अक्षयकोषको पुरस्कार वितरणसमेत गरिएको थियो । विद्यालयमा विभिन्न व्यक्ति तथा संस्थाको नाममा अक्षयकोष स्थापना भएका छन् । वि.स. २०३३ सालमा तत्कालिन समाजसेवी, वुद्धिजीवी, शिक्षाप्रेमीको सत्प्रयासबाट यो विद्यालय स्थापना भएको र सवैको भाग्यको उदय गराउने भाग्योदयको नामाकरणबाट विधिवत् पठन–पाठन शुरु भएको हो ।