विद्यार्थीले भने: देश छोडेर विदेश पलायन हुने रहर छैन

असोज १३, २०८०


स्मार्ट संवाददाता,पोखरा

१३ असोज २०८०, शनिवार 

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

शिक्षा, संस्कृति र पर्यटनको क्षेत्रमा काम गरिरहेको साभ नेपाल र फ्रीडम ट्रेनिङ सेन्टरको आयोजनमा भएको गण्डकी प्रदेशस्तरीय विद्यालय तहको वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूले देश छोडेर विदेश पलायन हुनु आजका युवा तथा विद्यार्थीहरूको बाध्यता भएको बताएका छन्। स्वदेशमा नै कमाउने र रमाउने रहर हुँदाहुँदै देशको बिग्रँदो राजनीति र आर्थिक परिस्थितिका कारण बौद्धिक पलायन बढेकोमा उनीहरूले दु:खेसो पोखेका थिए।

बाह्र कक्षामा पढ्दै गरेका  अधिकांश विद्यार्थीका अभिव्यक्ति निकै घतलाग्दा थिए । सबैजसोले देशमा स्वरोजगार, उद्यमशीलता आदिको प्रबन्ध हुन सके आफूहरू यही स्वर्ग जस्तो भूमिमा रहन चाहेको विचार व्यक्त गरेका थिए । विद्यार्थी बोलिरहँदा धेरै दर्शकहरू भाबुक बनिरहेका देखिन्थे ।

 शनिबार सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा विभिन्न विद्यालयका  १७ जना प्रतियोगीहरूको सहभागिता  रहेको थियो। उक्त प्रतियोगितामा मदरल्याण्ड माविकी कृतिक पराजुली प्रथम, अमोर सेवा फेदीखोला स्याङ्जाकी अमृता गुरुङ द्वितीय, शान्ति निकेतन माविकी  अदिती पराजुली तृतीय, सिर्जना  माविका अभय बस्नेत र भानुभक्त माविकी स्वस्तिका क्षेत्री सान्त्वना स्थान प्राप्त गरेका छन् ।

 गरिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्य र साभ नेपालका अध्यक्ष डा तुलसी राम खनालको अध्यक्षता  सन्चालन भएको कार्यक्रममा गरिमा विकास बैङ्कका क्षेत्रीय प्रबन्धक भोला प्रसाद तिवारी, चरक मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रदीप शर्मा लगायत विभिन्न सहयोगी संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतियोगितात्मक कार्यक्रममा साभ नेपालका अध्यक्ष डा. तुलसी राम खनाल प्रभासले अभिव्यक्ति कलाबारे प्रशिक्षण समेत दिएका थिए। अधिकांश विद्यार्थी कक्षा १२ बाट सहभागी भएको सो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो रोजेको विषयमा बोल्दा युवा पुस्ता विदेशमा पलायन हुन   वाध्य भएको देशको अवस्था प्रति चिन्ता प्रकट गरेका थिए । प्रतियोगितामा पहिलो सत्रमा सबैले ३ मिनट आ-आफ्नो रोजाइको विषयमा बोल्न लगाइएको थियो भने दोस्रो अर्थात फाइनल सत्रमा तीनवटा विषय दिइएको थियो  । जस्तै : १) बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल बिक्दैन २) सपनाको परदेस; बिपनाको स्वदेश ३) म सक्छु त्यसैले म गर्छु ।

कार्यक्रममा प्रमुख अतिथि गरिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले अब देशमा दक्ष जनशक्ति पाउन मुस्किल भैसकेको बताए। उनले आफ्नो बैङ्कमा महिनाको ६०-७० हजार तलब खाने कर्मचारी समेत जागिर छोडेर विदेश जाने गरेको र अब बैङ्कमा काम गर्ने कर्मचारीकै अभाव हुन थालेको  जानकारी दिए। सबै वक्ताको चिन्ता देशको दुरावस्था, आर्थिक मन्दी, स्वरोजगारको अभाव लगायतका विषयमा रहेको देखिएको थियो ।

प्रतियोगितामा प्रथमलाई रु १५ हजार , द्वितीयलाई रु १०हजार तृतीयलाई रु.५ हजार र सान्त्वना दुईजनालाई रु २ हजार  र प्रमाणपत्र प्रदान गरिएको थियो ।