दृष्टि

साउन २७, २०८०


२०८० साउन २७

यो हाँसो रङ्गिचङ्गी खोल हो
रित्ता पानाहरुको,

पढ्यौभने रित्ता पानाका
अक्षरहरु एकैछिन मेरा
आँखा सापटि मागेर,

देख्नेछौ…….
हजारौँ काँडाको बिचमा
फक्रीरहेको सुन्दर फूल,
जसको जरामा मुटु निचोरेर
चुहिरहेछ
पानीका थोपा तप-तप।

देख्नेछौ……
हजारौँ घाउहरुलाई ढाकेको
रुमाल,
त्यसैमा पोको पारेको
मुस्कान खस्न बल गरिरहेको
प्वालबाट ।

देख्नेछौ…..
ठूलो भुकम्पपश्चात् बाँचेको
माटोको भित्तोझैँ मुटु,
बडो सानले टाँसिएको एउटा
तस्बिर,
हर्दम छुट्टिन बल गरिरहेको
काँटिसङ्ग।



देख्नेछौ…
आशुको सागरमा
ढलपलाईरहेको डुङ्गा,
डुङ्गामा बडिरहेका प्वालका
सङ्ख्या,
हतपताउँदै टाल्न
खोजिरहेको एउटा घाईते।

बिस्तारै……
तिमी निसास्सिने छौ…..
हतपताउने छौ……
आत्तिने छौ……

तिमिलाई…..
ती आँखाबाट एक थोपा
आँसु झारीदिन पनि निको
लाग्ने छैन्,
र तत्काल….
माग्ने छौ आफ्नै आँखा
फिर्ता।

 कुशल पोख्रेल