लोक संस्कृतिका अध्येता डा. प्रभास सम्मानित

असोज २२, २०७८


असोज २२, पोखरा                                    नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लोक संस्कृतिका अध्येता डा. तुलसी खनाल प्रभास सम्मानित हुनुभएको छ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार , सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लोकगीत र सङ्गीतको अध्ययन अनुसन्धानमा डा. खनालले पुर्‍याएको योगदानको कदर गर्दै आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले प्रदेश सरकारका माननीय मन्त्री खड्काको हातबाट उहाँलाई दोसल्ला ओडाएर प्रमाणपत्र सहित सम्मान गरेको हो।

शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री खड्काले वर्तमान समयमा लोक दोहोरी क्षेत्र पनि सम्मानित हुँदै गएकोमा खुसी व्यक्त गर्दै कलाकारहरूले कुनै पनि राजनीतिक दलको सक्रिय राजनीति गर्न नहुने कुरामा जोड दिनुभएको थियो।
सम्मानित व्यक्तित्व डा.खनालले आयोजक प्रती आभार प्रकट गर्दै अब लोकसाहित्यको श्रीवृद्धिका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने आवश्यकता औल्याउनुभएको थियो। संस्कृति परिवर्तनशील भएजस्तै विश्वविद्यालयका पाठ्यक्रम पनि परिमार्जन हुन जरुरी भएको भन्दै उहाँले हिजो अपठित , गाउँलेको लोक सहित्य अब शिक्षितको पनि मूल्यवान सम्पत्ति हुँदै गएकोमा खुसी व्यक्त गर्नुभएको थियो।