बाइक वा स्कुटर चलाउँदा कहिलेकहिँ कुकुरले किन लखेट्छ? लखेट्दा के गर्ने ?

भदौ ०४, २०७९


स्मार्ट अखबार सम्वाददाता,
भदौ ४

तपाईंहरुले बाटोमा बाईक, स्कुटर वा कार कुदाउँदा आफ्नो सवारी साधनलाई कुकुरले खेदाएको अनुभव गर्नुभएको होला वा अरुको सवारीसाधन कुकुरले खेदाएको देख्नु भएको होला । कार कुदाएको बेला कुकुरले लखेट्दा दुर्घटना भएर आफुलाई हानी हुने सम्भावना निकै कम हुन्छ तर बाईक वा स्कुटर कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना निकै धेरै हुन्छ । कहिल्यै सोच्नुभएको छ कुकुरहरूले किन त्यसो गर्छन् ? वैज्ञानिकरुपमा पुष्टि नभएपनि कुकुरले खेदाउने कारणहरु यस्तो हुन् सक्छन –

  • कुकुरहरूले आफू बसेको क्षेत्रका रूखहरू र सवारी साधनहरूमा पिसाब गरेर आफ्नो क्षेत्र छुट्याउछन् । कहिलेकाहीँ तपाईंले आफ्नो गाडी पार्किङ क्षेत्रमा अथवा कतै राखेको बेला कुनै कुकुरले तपाईंको गाडीको टायरमा पिसाब गर्न सक्छ । र जब तपाईं त्यो ठाउँबाट आफ्नो गाडी लैजानुहुन्छ र अर्को कुकुरको इलाकामा प्रवेश गर्नुहुन्छ त्यसले अन्य कुकुरहरूको गन्ध थाहा पाउँछ र उनीहरूलाई लाग्छ कि अर्को छेत्रको कुकुर आफ्नो क्षेत्रमा पस्यो त्यसैले तिनीहरूले लखेट्न थाल्छन् ।
  • कुकुरहरुलाई गाडीको बत्ति, गाडीको आवाज, गाडीको घुमेको टायर मनपर्न सक्छ र उनीहरूलाई त्यसले आकर्षित गर्छ त्यसैले गाडीको पछि कुदेको हुनसक्छन् । त्यस्तै केही सवारीसाधनको ठुलो आवाजले कुकुरहरूमा डर पैदा गर्छ र त्यसलाई लखेट्छन् ।

बाइक वा स्कुटर चलाउँदा कुकुरले लखेट्दा के गर्ने ?

वास्तवमा, एउटा तरिका छ, जसलाई तपाइँहरुले कुकुरले लखेट्दा अपनाउन सक्नुहुन्छ । तपाईले देख्नु भएको होला कि धेरै जसो बाइक तीव्र गतिमा भएको बेला कुकुरले भुक्ने र खेद्ने गर्छ । कुकुर दौडिरहेको कुरा समात्न चाहन्छ। तर, त्यसको उल्टो गरे अर्थात् बाटोमा कुकुर देखेपछि बाइकलाई स्लो गर्नुभयो भने कुकुर भुक्ने छैन र लखेट्ने पनि छैन ।

यसबाहेक आवश्यक परेमा मोटरसाइकल रोकेर बिस्तारै त्यो बाटोबाट निस्कन पनि सकिन्छ । यसो गर्नाले कुकुरहरू भुक्न बन्द हुनेछन् । कुकुर भुक्दा आत्तिनु पर्दैन र मोटरसाइकल धेरै तीव्र गतिमा चलाउनु हुदैन ।